बलेफीको चौथो गाउँसभा सम्पन्न

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न भएको छ । बलेफी गाउँपालिका १ स्थित जलविरेमा विहिवार चौथो गाउँसभा सम्पन्न गर्दै विभिन्न विकास योजनाका लागि बजेट पास गरिएको बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठ कायस्थले जानकारी दिईन् ।

गाउँसभाले आर्थिक वर्ष ०७५/०७६ मा संसोधन भएका विभिन्न योजना र कार्यक्रमहरु पारीत गरेको छ । जसअन्तर्गत कुल ३८ करोड १८ लाख २९ हजार ५ सय ७४ रुपियाँ बजेटका संसोधित योजना र कार्यक्रम पास गरिएको गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले जानकारी दिए । गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रमा संसोधित बजेट र कार्यक्रम पास गरेको उनले बताए ।

‘मिनी संसद’ मा अलमल उस्तै
स्थानीय तह निर्वाचन पश्चात गाउँ सभामा संसदीय अभ्यासको रचनात्मक सुरुवात गर्दै आएको बलेफीका कार्यपालिकाका सदस्यहरु यसपटक पनि अलमलीए । दौरा सुरुवाल र साडीमा सजिएर आएका उनीहरु संसोधन प्रस्ताव पास गर्ने क्रममा अलमलमा देखिन्थे । संसोधन प्रस्तावपछि अध्यक्षले पक्ष र विपक्षमा सभा सदस्यका मत मागे ।

तर चौथो पटक पनि गाउँसभाका सदस्यहरु ‘मिनी संसद’ मा अल्मलीएका देखिए । कतिपय सदस्यहरु पक्ष र विपक्षमा दुई चोटी नै हात उठाएर मत जाहेर गरिरहेका देखिन्थे । प्रस्तावका पक्षमा हुनेहरुले पनि हात उठाएर मत जाहेर गर्न अलमलीएका देखिए । विपक्षमा केहि सदस्यहरुले मत जाहेर गरेका थिए ।

‘प्रस्तावको पक्षमा धेरै मत देखिएपछि संसोधन प्रस्ताव पास भएको घोषणा गरियो’, अध्यक्ष क्षत्रीले भने, ‘केहि सभासदस्यहरुले प्रस्तावको विपक्षमा मत जाहेर गर्नुभयो ।’ आफुहरुलाई भुमिका र जिम्मेवारी नदिइएको भन्दै केहि वडा सदस्यहरुले गाउँसभामा लिखित रुपमा गुनासो गरेका थिए ।