गणेश घिमिरे, इलाम
साहित्यको माध्यमबाट पर्यटन प्रबद्र्धनमा टेवा पुरयाउने उद्येश्यले पश्चिमी इलामको देउमाई नगरपालिकामा ‘देउमाई साहित्य पर्यटन महोत्सव २०७५’ सञ्चालनको तयारी सुरु भएको छ । प्राकृतिक, धार्मिक र साँस्कृतिक दृष्टिले सोहि नगरपालिका महत्वपूर्ण भएपनि प्रचार प्रसार लगायत बिभिन्न कारणले ओझेलमा छ ।
सो क्षेत्रको पर्यटन बिकाससंगै अन्य बिभिन्न बिकासका आयामहरु सृजना गर्ने उद्येश्य बमोजिम आउँदो चैत २३ र २४ गते ‘देउमाई साहित्य पर्यटन महोत्सव २०७५’ सञ्चालन हुन लागेको छ । समाजका लागि युवा नामक संस्थाको आयोजना एवं देउमाईनगरपालिका, पर्यटन बोर्ड, प्रज्ञा प्रतिष्ठान लगायतको सहयोगमा सञ्चालन हुने महोत्सवमा साहित्य समिक्षा, सफल ब्यक्तिका संघर्षका कथा, दशबर्ष पछिको देउमाई क्षेत्र, स्थानीय भाषाले नेपाली भाषामा पारेको प्रभाव, युवा र अबको नेतृत्व लगायतका बिषयमा छलफल, बहस हुनेछ ।
महोत्सवको दुवैदिन साँस्कृतिक कार्यक्रम पनि हुने आयोजक समितिका अध्यक्ष मोति गौतमले जानकारी दिए । महोत्सवमा प्रदेश नम्बर १ र राष्ट्रिय स्तरका चर्चित साहित्यकार, कलाकार, लेखकको उपस्थिती हुनेछ । दुईदिनसम्म चल्ने महोत्सवमा १२ देखि १५ हजार पर्यटक देउमाई नगरपालिकामा भित्राउने लक्ष्य आयोजकको छ । महोत्सव सोहि नगरपालिकाको पर्यटकिय स्थल नागिडाँडामा हुनेछ ।
‘यो महोत्सवले जिल्लाको पश्चिमी क्षेत्र अन्तर्गत सोहि नगरपालिका क्षेत्रका नागिडाँडा, गुफाथुम्कि, पानीटारको चिया बगान, गजुरमुखिधाम, शिद्धिथुम्का, जटेश्वर महादेव, नागेश्वरी, कुहिभिर जस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तब्यको प्रचार प्रसार राष्ट्रिय स्तरसम्म हुनेछ’ अध्यक्ष गौतमले भने ‘महोत्सवको माध्यमबाट यस नगरपालिका सहित समग्र जिल्लाको पर्यटन प्रबद्र्धनमा सघाउ पुग्नेछ ।’
महोत्सवमा आउने पर्यटकले स्थानीय स्तरमा उत्पादन भएका परिकारको स्वाद चाख्न पाउनेछन् भने स्थानीय स्तरमा बनेका सामाग्रीहरु कोसेलीको रुपमा खरीद गरेर लान सक्नेछन् । महोत्सव स्थलमा महोत्सव अवधिभर धुम्रपान–मध्यपानमा भने प्रतिबन्ध लगाउने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य एवं संबिधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्ने कार्यक्रम छ । १८ लाख ७२ हजार रुपैंयाँ खर्च हुने अनुमान गरीएको महोत्सव सम्पन्न गर्न देउमाई नगरपालिका सहित जिल्लाका अन्य स्थानीय तह र स्थानीय स्तरबाट संकलन गरीने आयोजक समितिका मातृका घिमिरेले बताए ।
दुईदिनसम्म चल्ने महोत्सवमा युवाको बिषयमा नेकपा नेता योगेश भटटराई र काँग्रेस नेता प्रदिप पौडेलबीच बहस हुनेछ भने, अभिनेता दयाहाङ राई, पत्रकार नारायण वाग्ले लगायतले सफलताको कथा प्रस्तुत गर्नेछन् । यस्तै लिम्बू भाषा र साहित्यको बारेमा चर्चा समेत हुने महोत्सवमा साहित्यकारले आफना रचनाहरु समेत प्रस्तुत गर्नेछन् । महिला अधिकारको बारेमा समेत बहस हुने महोत्सवमा साहित्यकार अभि सुवेदीको साहित्यिक प्रबचनका साथै अबको दशबर्ष देउमाई क्षेत्र र सिंगो इलाम जिल्लाको परिकल्पना प्रस्तुत गर्ने कार्यक्रमहरु रहेको छ ।











प्रतिक्रिया