बैतडी (नेस)
बैतडीका विभिन्न स्थानमा परेको असीनाले गहुँबाली, तरकारीबाली र फलफूलका बेर्ना नष्ट गरेको छ । जिल्लाका धेरै जसो स्थानमा परेको असीनाले गहुँबाली नष्ट गरेको किसानहरुले बताएका छन् । यो बर्ष समयसमयमा हिउँदे बर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आसामा बसेका किसानहरु निराश भएका छन् ।
असीनाले गहुँबाली,तरकारीबाली र फलफूलका बेर्ना नष्ट गरेको अगुवा किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । सिंचाईको सुविधा नभएका ठाउँमा समेत यो बर्ष गहुँबाली राम्रो थियो तर असीनाले सबै सखाप पारेपछि किसानहरु हैरान भएका छन् । खेत नै सेताम्य हुने गरेर असीना परेको स्थानीयहरुले बताएका छन् ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा असीनाले गहुँबाली नष्ट गरेको गम्भीर दयालले बताउनुभयो । साँझको समयमा परेको असीनाले गहुँबाली नष्ट गरेको उहाँले बताउनुभयो । बैतडीमा २१ हजार ९ सय हेक्टरमा गहुँखेती गरिदै आएको छ । प्रत्येक बर्ष विभिन्न कारणले बालीनालीमा क्षति हुँदै आएको भएपनि किसानहरुले राहत भने पाउन सकेका छैनन् । बालीबीमा नभएका कारण किसानहरुले क्षतिपूर्ती पाउन नसकेका हुन् । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार किसानहरुले बालीबिमा नगरेका कारण क्षतिपूर्ती पाउँदैनन् ।
जिल्लामा एकजनाले मात्रै तरकारीखेतीमा बालीबीमा गरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । तर किसानहरुले भने बालीबीमाका बारेमा थाहा नभएको र कहाँ गएर बालीबिमा गर्ने भन्ने कुरा नै जानकारी नभएको बताएका छन् ।











प्रतिक्रिया