आज ठिमी नगरपालिकाको २३ औं स्थापना दिवस

0
Shares

भक्तपुर,(नेस) । मध्यपुर थिमी नगरपालिकाले आज आफ्नो २३ औं स्थापना दिवस मनाउने भएको छ।नपाले मंगलबार पत्रकार सम्मेलन गरी यस वर्ष विविध कार्यक्रम साथ २३ औँ स्थापना दिवस मनाउन लागिएको जानकारी दिएको छ।

कार्यक्रम संयोजक एवं नपाका प्रवक्ता राम थापा मगरले नपाको स्थापना दिवसको अवसरमा नौ वटै वडाका महिला र पुरुष हुने गरी १८ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमाको रकम व्यहोर्ने घोषणा गर्ने बताउनुभयो ।

त्यस्तै कम्तीमा एक बालिका हुने गरी प्रत्येक वडाबाट तीन–तीन जना सामुदायिक विद्यालयमा पढ्ने गरिब एवं जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक चार हजार रुपैयाँको छात्रवृत्तिको घोषणा गरिने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

स्थापना दिवस कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसमेत हुने र मध्यपुरका वरिष्ठ साहित्यकार र नपालाई तिर्नुपर्ने राजस्व नियमित रुपमा तिर्ने एवं बढी राजस्व तिर्ने सेवाग्राहीहरुमध्ये एक महिला र एक पुरुषतर्फ उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

गट्ठाघरस्थित खेलमैदानमा हुने स्थापना दिवस कार्यक्रममा नपाले सञ्चालन गरेको सीपमूलक तथा रोजगारमूलक तालिमका सहभागीहरुले तयार गरेको वस्तु तथा उत्पादनको प्रदर्शनीको समेत हुने छ ।

गत बर्ष प्रमुख श्रेष्ठ र उपप्रमुख अन्जनादेबी मधिकर्मीले आपसी बिबादका कारण छुट्टाछुटटै रुपमा कार्यक्रम गरी नपाको स्थापना दिबस मनाएका भए पनि यस बर्ष संयुक्त रुपमा मनाउने भएका छन् ।