नीजि विद्यालयले परीक्षा शुल्क नलिने

0
Shares

भक्तपुर,(नेस)। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नीजि विद्यालयमा समेत परीक्षा शुल्क नलिने व्यवस्था गरेको छ । सरकारले माध्यमिक शिक्षा निःशुल्क घोषणा गरेपनि बिभिन्न स्थानमा सरकारी विद्यालयले नै बिभिन्न बहानामा शुल्क असुल्दै आएका बेला मध्यपुर थिमिले नीजि विद्यालयमा समेत परिक्षा शुल्क नलिने व्यवस्था गरेर उदाहरणीय कार्य गरेको हो ।

मध्यपुर थिमिका नगर प्रमुख मदन शुन्दर श्रेष्ठका अनुसार, नगरपालिकाले नगरस्तरीय कक्षा ८ को परीक्षामा सरकारी र सामुदायिक कुनै पनि विद्यालयले परिक्षा शुल्क नलिने नीति लिएको हो । यसअघि जिल्ला स्तरमा हुंदै आएको सो परिक्षा स्थानीय तह सञ्चालनमा आएसंगै नगर स्तरीय हुंदै आएको छ ।
विद्यार्थीलाई स्थानीय सरकार सर्वसाधारणको शिक्षामा बढी जिम्मेवार छ भन्ने महसुस गराउन नगरपालिकाले परिक्षा शुल्क मिनाहा गरेको प्रमुख श्रेष्ठको भनाई छ ।

आठ सामुदायिकसहित ४६ विद्यालयमा अध्ययनरत एक हजार छ सय ३२ विद्यार्थी सो व्यवस्थासंगै लाभान्वित भएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो । प्रमुख श्रेष्ठका अनुसार, परिक्षा शुल्क मात्र होईन, नगरपालिकाले कक्षा आठको मार्कसिट र सर्टिफिकेट लिनका लागि समेत कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरेको छ । यसअघि विद्यार्थीले नीजिमा मात्र होईन, सरकारी विद्यालयमा पनि परिक्षा शुल्कदेखि सर्टिफिकेट र मार्कसिट लिनका लागि छुट्टाछुट्टै शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो ।

यसैबीच मध्यपुर थिमिका सामुदायिक विद्यालयको गुणस्तर उकास्न नीजि क्षेत्रका विद्यालयले सहयोग गर्ने भएका छन् । नगर प्रमुख श्रेष्ठका अनुसार, नीजि क्षेत्रका विद्यालयले सहयोग गरेर नगर क्षेत्रका सरकारी विद्यालयको शिक्षाको गुणस्तर बढाउने सहमति भएको हो ।