अनुदान प्राप्त गरेपछि आत्मर्निभर बन्नुपर्छः मन्त्री गुरुङ

0
Shares

कास्की ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जुनसुकै व्यवसाय पनि मुनाफाका लागि गरिनुपर्ने बताउनुभएको छ ।

‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन’ भन्ने नारासहित नेपाल मौरीपालक महासङ्घ गण्डकी प्रदेशले १३औँ राष्ट्रिय मह दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अनुदानका लागि मात्र कृषि व्यवसाय नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारबाट अनुदान लिएर व्यवसाय एक वर्ष टिकाउन सकिएला तर सधँै त्यसकै भरमा खेती गर्न सकिँदैन । व्यवसाय मुनाफा हुने गरी गर्नुपर्छ र जसले मुनाफा आर्जन गर्न सक्छन् उनीहरु मात्र व्यवसायी हुन् ।” सङ्घ, प्रदेश तथा स्थानीय सरकारले कृषि क्षेत्रमा अनुदानमा ठूलो रकम विनियोजन गर्दै आएको बताउँदै मौरीपालनको व्यावसायिकताका लागि कृषकलाई आर्थिक र प्राविधिक सहयोग सरकारले उपलब्ध गराउने बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सरकारले प्रत्येक गाउँमा नमूना कृषि उत्पादन गर्ने नीतिअनुसार ३६ गाउँ छनोट गरेको बताउँदै मौरीपालन व्यवसायलाई पनि नमूना व्यवसायका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । मानव स्वास्थ्य तथा धार्मिक कार्यमा समेत महको प्रयोग गर्ने प्रचलन रहेको छ । मानव शरीरलाई आवश्यक ८४ किसिमका खाद्यतत्वमध्ये ८० खाद्यतत्व महमा पाइने र मह सेवनबाट दम, खोकी तथा शारीरिक दुर्बलताको अन्त्य हुने बताइएको छ ।
रासस