निर्मला हत्या प्रकरणः पूर्व डीएसपी जिसी ९ लाख धरौटीमा रिहा

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटना अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालिन डीएसपी अंगुर जिसी ९ लाख धरौटीमा छुटेका छन् ।

कञ्चनपुर जिल्ला अदालतले जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिसीलाई यातनाविरुद्धको कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा ४ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

जिल्ला न्यायनाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा उनी धरौटीमा रिहा भएका हुन् ।

निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र भीमदत्तनगरपालिका– १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए ।

सो घटनामा आरोपित तत्कालिन एसपी डिल्लीराज विष्टसँग अदालतले १० लाख ५० हजार धरौटी माग गरेको थियो ।