जनप्रतिनिधीको निर्णयः पाँच वर्षको पारिश्रमिक शिक्षा क्षेत्रमा

0
Shares

अर्जुन बोहरा, हुम्लामा
सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावतले आफुले पाउने मासिक शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गर्नु भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रावतले आफु निःस्वार्थ रुपमा स्वयम सेबककोरुपमा राजनीतिमा आएको र गाउँपालिका भरिका बिद्यालयका गरिब तथा जेहेन्दार बिधार्थीहरुको पठन पाठनमा सहयोग पुर्याउनका लागि पालिकाबाट पाईने सेवा र सुबिधा बापत आउने रकम खर्च गर्न लागिएको बताउनु भएको हो ।

पढ्ने चाहाना भएर पनि घर कै अबस्थाले पढ्न नपाएको कारण पनि अहिले शिक्षामा लगानी गर्न प्रोत्साहन मिलेको र आफ्नो सानो सहयोगले अर्को बिधार्थीको भबिष्य बनाउन सहयोग पुगोस भन्नका लागि यस्तो निर्णय गरिएको उहाँले बताउनु भयो । अघिल्लो आर्थिक बर्षको सेवा र सुबिधा सहित यस आर्थिक बर्षको हालसम्म समेत जोडेर अक्षय कोष स्थापना गर्ने र कोष संचालन कार्य बिधि बनाएर त्यसलाई शिक्षा क्षेत्रमा लगानी गरिने उहाँले बताउनु भयो ।

उपाध्यक्षको मासिक पारिश्रमिक २५ हजार हुने गरेको छ । हालसम्म दशै पेश्की सहित २४ महिनाको पारिश्रमिक बुझेको छ लाख भएको र त्यसको अक्षय कोष र छात्रबृद्धिका लागि खर्च हुने तथा यस पछि बाँकी अबधिसम्मको रकम पनि कोष मार्फत गाउँपालिकामा रहेका बिद्यालयहरुका छात्रा छात्रहरुको पठन पाठनमा लगानी गरिने उहाँले बताउनु भयो ।

नौ बर्षको उमेरमा आमाको मृत्यु भएको कारण आफुले पढ्न नपाएको र आफु जस्तै कुनै बालबालिकले आर्थिक अभाब कै कारण पठन पाठनमा अबरोध सृजना नहोस भन्नका लागि हालसम्म आफुले गाउँपालिकाबाट पाएको र आगामी दिनमा पाउने पारिश्रमिकहरु बुवा आमाको नाममा अक्षय कोष स्थापना गरेर गाउँपालिकाका सबै बिद्यालयहरु समेटिने गरि गरिब तथा जेहेन्दार बिधार्थीको शिक्षाका लागि लगानी गर्ने उपाध्यक्ष रावतले बताउनु भयो ।

उपलब्धी पनि शिक्षा क्षेत्रमा देखिने र समस्या पनि पठन पाठनमा बिधार्थीहरुलाई हुने भएको कारण यही क्षेत्र रोजिएको उपाध्यक्ष रावतले बताउनु भयो । समस्या अरु क्षेत्रमा पनि भएको तर सानैमा पढ्दा जसरी आफुले समस्या भोग्नु पर्यो तर अहिलेका बिधार्थीले त्यो समस्या भोग्नु नपरोस भनेर आफुले यस्तो निर्णय गरेको उहाँले बताउनु भयो । उक्त रकमबाट जिल्ला बाहिर वा जिल्ला मै प्राबिधिक धारमा अध्ययन गर्ने बिधार्थीहरुका लागि पनि लगानी गरिने उहाँले बताउनु भयो । त्यसै गरि एसईई परिक्षामा उत्कृष्ट नम्बर ल्याउने बिधार्थीलाई पनि छात्रबृद्धि दिईने उहाँले बताउनु भयो ।

त्यसै गरि उपाध्यक्ष रावत पेन्सन पाउने भए पनि आफुले जनप्रतिनिधि भै सके पछि त्यो पनि त्यागेको उहाँले बताउनु भयो । यस अघि सर्केगार्ड गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष कर्ण बहादुर शाहीले आफ्नो पारिश्रमिकको पच्चीस प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरे कार्यान्वयनमा ल्याउनु भएको थियो भने सबै र पुरै अबधिको पारिश्रमिक शिक्षा क्षेत्रमा लगानी गर्ने हुम्ला जिल्लाका जनप्रतिनिधिहरु मध्य उपाध्यक्ष रावत पहिलो हुनु भएको छ ।