फ्रान्सको सहज जित


लन्डन, (एजेन्सी)
युरो कप छनोट अन्तर्गत समूह एच को म्याचमा फ्रान्सले सहज जितको नतिजा आत्मसात गरेको छ।
सोमबार राति भएको खेलमा फ्रान्सले आइसल्यान्डमाथि ४–० को सहज जित निकालेको हो। क्लियन एम्बाप्पेको क्रसलाई सदुपयोग गर्दै स्यामुएल एम्टिटीले गोल गर्दै खेलको १२आंै मिनेटमा फ्रान्सलाई शुरुआती अग्रता दिलाएका थिए।

यस्तै ओलिभर जिरौडले खेलको ६८आंै मिनेटमा गोल गरेपछि फ्रान्सको अग्रता दोब्बर बनेको थियो। उक्त गोल गरेका जिरौड फ्रान्सको सर्वाधिक तेस्रो गोलकर्तासमेत बनेका छन्। जिरौडले ८९औं अन्तर्राष्ट्रिय खेलमा ३५ गोल गर्न सफल भएका छन्। एन्टोइन ग्रिजम्यानको पासलाई सदुपयोग गर्दै ७८आंै मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि तेस्रो गोल गरे। उनै ग्रिजम्यानले ८४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ४–० को सहज जित दिलाए।

जितसँगै विश्वविजेता फ्रान्स छनोट तालिकाको शीर्षस्थानमा उक्लिएको छ। समूहमा फ्रान्सले दोस्रो जितसंगै ६ अंक जोडेको छ। फ्रान्सले छनोटको दुई खेलमा ८ गोल गरेको छ। फ्रान्सले पहिलो खेलमा माल्डोभालाई ४–१ गोलअन्तरले हराएको थियो। यता आइसल्यान्डले भने पहिलो हार ब्यहोरेको हो।

इंग्ल्यान्ड विजयी
युरो २०२० को छनोट चरणको दोस्रो खेलमा पनि इंग्ल्यान्ड विजयी भएको छ।
इंग्ल्यान्डले समूह ए को दोस्रो खेलमा मोन्टेनेग्रोमाथि ५–१ को शानदार जित निकालेको हो। मोन्टेनेग्रोको घरेलु मैदानमा सोमबार राति भएको खेलमा इंग्ल्यान्डले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो।

इंग्ल्यान्डको शानदार जितमा रोस बार्कलीले दुई तथा माइकल किन, ≈यारी केन र रहिम स्ट्रलिङले एक–एक गोल गरेका थिए। मोन्टेनेग्रोकातर्फबाट भने मार्को भेसोभिकले एक गोल फर्काएका थिए।

खेलको १७औं मिनेटमा मोन्टेनेग्रोका मार्कोले गोल गरेपछि इंग्ल्यान्डपछि परेको थियो। तर, घरेलु टोलीको त्यो अग्रता लामो समय भने टिकेन। खेलको ३०औं मिनेटमा माइकल किनले बराबरी गोल फर्काएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो।

खेलको ३९औं मिनेटमा रोस बार्कलीले गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफमा २–१ को अग्रता बनायो। खेलको ५९औं मिनेटमा बार्कलीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। ७१औं मिनेटमा ≈यारी केनले गोल गरेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो। ८१औं मिनेटमा रहिमले गोल गर्दै इंग्ल्यान्डलाई ५–१ को शानदार जित दिलाए।

जितसँगैे युरो छनोटको समूह ‘ए’ मा दुई खेलमा ६ अंक जोड्दै इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ। छनोटको पहिलो खेलमा पनि इंग्ल्यान्डले चेक रिपब्लिकलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो।