पुनर्निर्माणका प्राविधिकहरूको आन्दोलन स्थगित

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरू आन्दोलन स्थगित गरी काममा फर्किन सहमत भएका छन्।
नेपाल इन्जिनियर्स एसोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमतिअनुसार पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई अर्थ मन्त्रालयको परिपत्र अनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वले पूर्ण प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरू काममा फर्कन सहमत भएका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपाल इन्जिनियर्स एसोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच छलफल भई गरिएको निर्णयमा मंगलबारदेखि आन्दोलनका कार्यक्रम स्थगन गरी काममा फर्किने निर्णय गरियो भन्ने उल्लेख गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अर्थ मन्त्रालयको सहमतिअनुसार प्राविधिकहरूलाई प्रोत्सान भत्तालगायतका सुविधाबारे उल्लेखित समयमै मन्त्रिपरिषद्बाट निर्णय आउने विश्वास व्यक्त गर्नुभयो।

चैत १० गते अर्थ मन्त्रालयले प्राविधिकहरूलाई प्रोत्साहन भत्तालगायतका सुविधा उपलब्ध गराउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावमा सहमति प्रदान गरेको थियो। प्राविधिक राष्ट्रिय हकहित समितिले गत साउनदेखिकै अतिरिक्त समय काम गरेवापतको भत्ता एवम् दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने लगायतमा माग राखी दबाबमुलक कार्यक्रम गर्दै आएको थियो।