प्रदेश पर्यटक प्रहरीको गठन गरिने

0
Shares

विराटनगर, (नेस)
प्रदेश नम्बर एकको सरकारले पर्यटक प्रहरीको व्यवस्था गर्ने भएको छ। पर्यटकीय क्षेत्र र स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षा सम्बन्धी कार्य गर्न प्रदेश सरकारले प्रदेश पर्यटक प्रहरीको व्यवस्था गर्ने भएको हो। प्रदेश सरकारको तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा प्रदेश संसदमा प्रस्तुत गरिएको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा पर्यटक प्रहरीको व्यवस्था गर्ने उल्लेख गरिएको छ।

प्रदेश सरकारले प्रदेशभित्र खास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्ने र घोषणा गरिएको क्षेत्रको प्रवद्र्धन, विकास र व्यवस्थापनका लागि समिति गठन गरिने समेत उल्लेख गरिएको छ। प्रदेश सरकारले प्रदेशभित्र संचालित होटल, रेष्टुरेन्ट तथा लजहरूको सेवा सुविधा, सरसफाइको आधारमा वर्गिकरण गरी पर्यटक सम्बन्धी वा सामान्य कस्तो प्रकृतिको हो त्यसको स्तर निर्धारण गर्ने भएको छ।

पर्यटक स्तरको नभएको होटलहरूले पर्यटक स्तरको भनी संचालन तथा प्रचारप्रसार गरेमा पहिलो पटक २५ हजार, दोस्रोपटक ५० हजार र तेस्रोपटकदेखि एक लाख रुपियाँसम्म जरिवाना गर्ने विधेयकमा उल्लेख गरिएको छ। त्यस्तै विधेयकले पथप्रदर्शकहरूका लागि पनि छुट्टै्र व्यवस्था गरेको छ। पथ प्रदर्शकहरूले प्रदेश सरकारले लिएको परीक्षा पास भएमात्रै पथप्रदर्शको इजाजत पत्र प्राप्त गर्ने छन्।