हवाई उडानको प्राविधिक पक्ष टुंगो लगाउन आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–जापानबीच सीधा हवाई सेवा शुरु गर्ने बारेमा जापानी टोलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल गर्नु भएको छ। हवाई उडानसँग जोडिएका विविध प्राविधिक विषय यथाशक्य छिटो टुङ्ग्याएर सेवा आरम्भ गर्ने बारेमा ज्ञवालीले जापानी टोलीसँग छलफल गर्नु भएको हो।
नेपाल भ्रमणमा रहेको जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका उपाध्यक्ष कोजी ताकाहासी नेतृत्वको टोलीसँगको भेटमा मन्त्री ज्ञवालीले हवाई उडानको प्राविधिक पक्ष छिटै टुंगो लगाउन आग्रह गर्नु भएको मन्त्री ज्ञवालीका प्रेस संयोजक सुदन ज्ञवालीले जानकारी दिनुभयो। ‘दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सिधा हवाई उडानको खाँचो भएको बारेमा उहाँहरूबीच छलफल भएको हो, ज्ञवालीले भन्नुभयो–‘परराष्ट्रमन्त्रीले गर्नु भएको आग्रहमा जापानी टोली सकारात्मक बनेको छ।’

प्रतिउत्तरमा उपाध्यक्ष ताकाहासीले सिधा हवाई उडानले दुवै मुलुकका नागरिकको सम्बन्धलाई निकट बनाउन सघाउ पु¥याउने बताउँदै हवाई उडानको प्रक्रिया छिट्टै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। सो भेटवार्तामा मन्त्री ज्ञवालीले नेपालले तय गरेको नेपाल भ्रमण वर्ष २०२०को प्रसङ जोड्दै भ्रमण वर्ष सफल बनाउन जापानी पर्यटक र जापानको भूमिका पनि महत्वपूर्ण हुने बताउनु भएको थियो। यसका लागि जतिसक्दो छिटो सिधा उडान आवश्यक भएको र जापानको साथ र सहयोग जरुरी भएको मन्त्री ज्ञवालीको भनाइ थियो। यसअघि दुवै मुलुक बीच गत पुस अन्तिम साता सिधा हवाई सेवा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

नेपाल वायुसेवा निगमले वाइडबडी जहाजमार्फत जापानसहित अन्य युरोपेली मुलुकमा सिधा उडान गर्ने पहल अघि बढाएको छ। पहिलो चरणमा जापानको ओशाका विमानस्थलमा उडान गर्ने निगमको तयारी छ। यसअघि दुवै मुलुकबीच सिधा हवाई उडान गर्नेबारेमा पुस अन्तिम साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनेबीच द्विपक्षीय सम्झौता भएको थियो। सो सम्झौतासँगै नेपाल एयरलाइन्सले जापानमा साताको १४ उडान गर्न पाउने बताइएको छ। दुवै मुलुकबीच २५ वर्षअघि भएको हवाई सम्झौता गत असारमा नवीकरण भएको छ।