‘बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण’

0
Shares

बुटवल, (नेस)
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। डिला संग्रौलाले निर्मला पन्तका हत्यारालाई बालुवाटार र सिहंदरबारले लुकाएको आरोप लगाउनुभएको छ।

प्रतिनिधिसभाकी सांसद समेत रहनुभएकी संग्रौलाले बालुवाटार र सिहंदरबारभित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको दाबी गर्नुभयो। नेपाल प्रेस युनियन रूपन्देहीले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता संग्रौलाले सुरक्षा, सुशासन, शान्ति र समृद्धिको मुद्दामा सरकार पूर्णरूपमा असफल भएको दाबी पनि गर्नुभयो।

‘एउटी बालिकाको बलात्कार र वीभत्स हत्या भएको ८ महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्ने नालायक र भ्रष्ट सरकारका रूपमा परिचित भएको नेता संग्रौलाले दाबी गर्नुभयो। राष्ट्रिय सुरक्षा परिषद् विधेयकमार्फत सरकारले संविधान उल्लंघन गर्न खोजेको र प्रधानमन्त्रीले ठूला परियोजना सञ्चालन गर्न खोज्नुमा भ्रष्टाचारको गन्ध मिसिएको उहाँको भनाइ रहेको छ।

राष्ट्रियताको सवालमा सीके राउत र प्रम ओली एकै सिक्काका दुई पाटामा उभिएको उल्लेख गर्दै उहाँले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर देशलाइ मुठभेडतिर धकेल्न खोजेको आरोप पनि लगाउनुभयो। सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिँदै विप्लव नेतृत्वको नेकपालाई पनि वार्तामा आउन आग्रह गर्नुभयो। ‘जनता शान्ति चाहन्छन्। देशले द्वन्द्व थेग्न सक्दैन। सरकार र विप्लव नेतृत्वको नेकपा दुवैले यो सत्यलाई आत्मसाथ गर्नुपर्छ’ –संग्रौलाले भन्नुभयो।

प्रमुख जिल्ला अधिकारलाई सुरक्षाको अधिकार दिन खोज्नु संविधान र संघीयताको मर्मविपरीत भएको उल्लेख गर्दै उहाँले प्रदेश र स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताउनुभयो।