ओभर लोडले पुल भासियो हजारौं स्थानीयलाई सास्ती

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
मोरङको जहदा गाउँपालिका सिर्सियास्थित पुल भत्किँदा सर्वसाधारणले सास्ती झेल्नुपरेको छ। ओभर लोडका कारण पुल भास्सिएर गहिरो खाडल परेपछि सवारी, सवारीचालक र पैदलयात्रुलाई समस्या भएको छ। जहदा गाउँपालिका–७ सिर्सिया बस्तीको मध्यभागमा रहेको यो पुल भत्किएका कारण सर्वसाधारणले समस्या झेल्नुपरेको हो।

कटहरी गाउँपालिकाबाट जहदा हुँदै भारतीय सीमाक्षेत्रसम्म जोड्ने सडक खण्डको बीचमा रहेको पुल भत्किएका कारण जहदा गाउँपालिकाबाट कटहरी हुँदै विराटनगरतर्फ आउने र कटहरीबाट जहदातर्फ जाने सर्वसाधारणलाई समस्या भएको छ। पुल भत्किँदा आपासका बस्ती तरिगामा, महादेवकोल, भीमपुर र सितमटोललगायतका हजारौं बासिन्दाले समस्या झेल्नुपरेको छ।

ओभरलोड गरी आएको ट्रिपरका कारण पुलको दक्षिणतर्फको १५ फिट बढी भाग भास्सिएर गहिरो खाडल परेपछि समस्या सिर्जना भएको हो। ओभरलोड गिटीसहित एकैपटक आएको आधा दर्जन बढी ट्रिपरले पार गर्ने क्रममा पुल भास्सिएर गहिरो खाडल परेको स्थानीयले जानकारी दिएका छन्। चारचक्के सवारीसाधनले सो पुल तर्न नसक्ने भएपछि विद्यालयका बस र एम्बुलेन्सले निकै पर रहेको वैकल्पिक बाटो प्रयोग गर्ने गरेको स्थानीयले कैलु मुर्मुले बताए।

पुल भास्सिएर ठूला सवारीसाधनको आवागमनमा अवरोध भए पनि पैदलयात्री, साइकल र मोटरसाइकल चालकले भने जोखिम मोलेरै भए पनि खाडल पार गर्ने गरेका छन्। त्यसरी जोखिम मोलेर पुल पार गर्ने क्रममा दिनहुँ मोटरसाइकल र साइकल चालकहरू दुर्घटनामा पर्ने गरेको स्थानीयले जानकारी दिएका छन्।

खाडल परेको विषयमा सवारीचालकलाई चेतावनी दिन स्थानीयबासीले भत्किएको ठाउँमा बाँसमा रातो कपडा झुन्ड्याए पनि रातको समयमा त्यो नदेखिने कारण दैनिकजसो मोटरसाइकल चालक लडेर घाइते हुने गरेको जहदा–७ सिर्सियाका वसन्त साहको भनाइ छ। एक महिनाअघि पुल भत्किएर पूर्णरूपमा आवागमन अवरुद्ध भएपछि स्थानीयवासीले आफैले खाडल परेको ठाउँमा बाँसको टाटीमाथि माटो पुरेर आउजाउ गरिरहेका छन्।

सो विषयमा प्रतिक्रिया दिनुहुँदै जहदा गाउँपालिका–७ का वडाध्यक्ष भगवान्लाल बेस्राले पुल भत्किएको ठाउँमा तत्काल मर्मतका लागि गाउँपालिकाबाट १ लाख रुपियाँ छुट्याइएको जानकारी दिए। पुल भत्किएपछि आसपासका कैयौं गाउँका बासिन्दा र विद्यार्थीलाई आउजाउमा समस्या त भएकै छ साथै गाउँमा एम्बुलेन्स र दमकल समेत नपुग्ने अवस्था सिर्जना भएको छ।