पूर्णचण्डी पोखरी पुनर्निर्माण हुँदै

0
Shares

ललितपुर, (नेस)
ललितपुर महानगरपालिका गाबहालस्थित सुख्खा मैदानमा परिणत भएको पूर्णचण्डी पोखरीको पुनर्निर्माण हुने भएको छ। ललितपुर महानगरपालिकाले उक्त पोखरीको पुनर्निर्माण गर्न लागेको हो। पुनर्निर्माणका लागि ९९ लाख लागत अनुमान गरिएको उक्त पोखरीको महानगरका मेयर चिरीबाबु महर्जनले शिलान्यास गर्नुभएको हो। वडा नं २० मा अवस्थित पूर्णचण्डी पोखरी निर्माणका लागि ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ। केही वर्षअघिसम्म गाबहालबासीको पानीको स्रोत रहेको पोखरीमा अहिले पानी छैन। ललितपुर महानगरपालिकाका मेयर महर्जनले पोखरी संरक्षण सम्पदा संरक्षणको महŒवपूर्ण पक्ष भएको बताउनुभयो।

बढ्दै गएको शहरीकरणका कारण सहरको सुन्दरमा बिग्रँदै गएकोमा चिन्ता प्रकट गर्नुभयो। महानगरले शहरलाई सुन्दर बनाउने, वातावरण संरक्षण गर्ने पोखरी संरक्षणलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘२०२१ सालको नापी नक्साअनुसारमा नै पोखरीको क्षेत्रफल हुनुपर्छ, पोखरीको क्षेत्रफललाई खुम्च्याउन पाइँदैन।’

उपभोक्ता समितिका अध्यक्ष किरण महर्जनले पोखरी महŒवपूर्ण सम्पदा भएको बताउँदै यसको संरक्षणले पर्यावरण संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार पोखरीमा थुप्रिएको दुई फिट कालो माटो झिक्नुपर्नेछ, माटो झिकेपछि आवश्यक प्रक्रिया पूरा गरेर पोखरीमा पानी भरण हुनेछ। परापूर्व कालमा पूर्णचण्डी पोखरी नख्खु खोला र बागमतीको दोभान भएको जानकार बताउँछन्। पोखरीको पुनर्निर्माण समयमै सक्ने प्रतिबद्धता किरण महर्जनले गरे। उनका अनुसार दुई महिनाभित्र पुनर्निमार्णको काम सम्पन्न गर्नुपर्नेछ।