मेरो कम्पिटिसन नम्बर वानसँग ः सलिनमान

0
Shares

फिल्म यात्रा ः अ म्युजिकल भ्लगको टे«लर रिलिज भएको छ। सोमबार राजधानीको दरबारमार्गस्थित क्युज सिनेमामा आयोजना गरिएको कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

टिजरमा नायक सलिनमान बानिया भ्ल्गिस्टको रूपमा देखिएका छन् भने एक्सन, रोमान्स र कमेडीलाई पनि समेटिएको छ। ट्रेलरमा मालिका महत, सलोन बस्नेत, रियर राई, प्रेक्षा वज्रचार्य, जान्वी बस्नेत, राजाराम पौडललगायतलाई देखाइएको छ। सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा कथा पनि सम्राटकै रहेको छ भने उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीको लेखन रहेको छ।

कार्यक्रममा बोल्दै सम्राटले सबै जनाले यात्रा लामो भएको भने पनि आफ्नो लागि भने छोटो भएको बताए। ‘अझ धेरै मेहनत गर्न सकिन्थ्यो कि भन्ने हिसाबले मलाई यात्राको यात्रा छोटो लाग्यो।’ –उनले भने। फिल्मका प्रस्तुतकर्ता केशव भट्टराईले यात्रा अब दर्शकको जिम्मामा छोडेको बताए। ‘यात्राको सुटिङका क्रममा सोलुखुम्बु जाँदा निकै अनौठो अनुभव भयो। मेरो टिममा ३० वर्ष कटेका निकै कम व्यक्ति रहेछन्। त्यस कारण मैले पहिले बनाइरहेको भन्दा फरक फिल्म बनाउँदै रहेछु भन्ने अनुभव गरें।’ –उनले सुनाए।

नायक सलिनमान बानियाँले यात्रामा सबैले मेहनत गरेको र सुटिङका क्रममा निकै रमाइलो भएको बताए। ‘बिनालौरो यात्रामा एक्लै हिँडेको मलाई तपाईंहरूको साथ र मायाको आशा छ।’ –उनले भने। सलिनले चैत २९ गते ए मेरो हजुर ३ पनि यात्रासँगै रिलिज हुने भएकाले आफ्नो प्रतिस्पर्धा नम्बर वान हिरोसँग हुने र जसमा आफ्नो हार भए पनि हार नठहरिने बताए। ‘कम्पिटिसन नै गरेपछि नम्बर वानसँगै गर्ने हो। फुटबल खेलाडी मेस्सी, रोनाल्डो पनि धेरै पटक हारेका छन्। मेरो कम्पिटिसन पनि नम्बर एकसँग भएकाले हार नै भयो पनि त्यसलाई म हार मान्दिनँ।’ –उनले भने।

नायक सलोन बस्नेतले फिल्ममा आफूहरूले निकै रमाइलो गरेको र यात्राको यात्रा आफ्ना लागि अविस्मरणीय रहेको बताए। विशाल कटवालले टिममा सबै जना साथीसरहका कलाकार भएकाले निकै रमाइलो भएको र आफूहरूले फिल्ममा निकै मेहनत गरेको दाबी गरे। अभिनेता राजाराम पौडेलले यात्राको क्रममा ऐतिहासिक अनुभव सँगालेको बताए।

‘सोलुखुम्बुमा बस्दा मलाई त्यहाँको ऐतिहासिक होटलको ऐतिहासिक रुममा राखिएको थियो। उक्त रुम प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको रुम रहेछ। फिल्मको ट्रेलर रमाइलो छ। तर फिल्म निर्माणको क्रममा निर्मातालाई झन् रमाइलो भयो। मौसमका कारण ५ दिनका लागि भनेर गएको म १० दिन बस्नुप¥यो र १० दिनका लागि गएका मान्छे ३२ दिन बस्नुप¥यो। फिल्मका सबैसँग मेरो पहिलो अनुभव हो। उहाँहरू नयाँ भए पनि सबै जना माझिएका कलाकार हुनुहुँदो रहेछ’, पौडेलले भने– ‘सबैको काममा निपुणता छ। सबै जनाले राम्रो मेहनत गर्नुभएको छ। सम्राट शाक्य ५० टेक लिएर भए पनि काम राम्रो गरौं भन्ने हुनुहुँदो रहेछ।’

कलाकार रियर राईले फिल्ममा आफू र राजाराम पौडेलको क्यारेक्टर मिलेको बताए। नायिका मालिका महतले आफू ट्रेलर हेरेर भावुक भएको बताइन्। ‘ट्रेलर हेरेर म इमोसनल भएँ। ट्रेलर सोचेको भन्दा पनि राम्रँे बनेको रहेछ। वर्कसपमा मलाई सबै जनाले गरेको हेल्पका कारण मैले यतिसम्म अभिनय गर्न सकें।’ –उनले भनिन्।

प्रस्तुतकर्ता चीजकुमार श्रेष्ठले आफू राजनीतिमा लागेर मन्त्री हुन नसके पनि फिल्म निर्माण गर्दै फिल्ममा मन्त्रीको भूमिकामा खेल्ने विचार रहेको बताए। फिल्मका अन्य कलाकारहरूमा जान्वी बस्नेत, जयनन्द लामा, प्रेक्षा वज्राचार्य, धिरेन शाक्य, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन्। कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता केशव भट्टराईसँगै चीजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन्। फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सहनिर्माता रहेका छन्। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्।

शम्भुजित बासकोटासँगै प्रतीक पौडेल र कोविद वज्रको संगीत रहेको फिल्ममा सञ्जय लामाको छायांकन, प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन रहेको छ।