प्याब्सनिस्टलाई बधाईसहित शिक्षापथ विमोचन

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
शिक्षालय मासिकको आयोजनामा प्याब्सनको चौधांै राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। प्याब्सनका केन्द्रीय पदाधिकारीदेखि प्रदेश ३ का अध्यक्ष र काठमाडौं उपत्यकाका जिल्ला अध्यक्षहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमाणपत्रसहित बधाई दिनुभयो।

सोही कार्यक्रममा शिक्षालय मासिकले प्रकाशन गरेको शिक्षापथ नामक पुस्तकको विमोचनसमेत गरिएको छ। कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले निस्वार्थ भावले निजी विद्यालय सञ्चालन गर्नका लागि कसैले नरोक्ने बताउनुभयो। श्रेष्ठले भन्नुभयो– ‘निजी विद्यालय सञ्चालन गर्नका लागि सरकारले कुनै बन्देज गर्नेछैन, नियमन भने पक्कै गर्नेछ। आफ्नो जीविकाका लागि मात्र विद्यालय सञ्चालन गर्न खोजेको हो भने त्यसलाई रोक्नुपर्छ।’

शिक्षामा दीर्घकालिन रूपमा सेवाको भावले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो। खाली नाफा कमाउनका लागि विद्यालय सञ्चालन गर्ने हो भने सरकार भएको के अर्थ भयो भन्दै उहाँले भन्नुभयो– ‘हामीले लामो संघर्ष गरेर सरकारमा पुगेको के अर्थ भयो रु शिक्षा मन्त्रालय जसले चलाए पनि भइहाल्यो नि।’ अहिले सरकारले मात्र शिक्षामा लगानी गरेर पुग्ने अवस्था नभए पनि सरकारको मुख्य ध्येय सामुदायिक विद्यालयको उन्नतिका लागि काम गर्ने भएको उहाँको भनाइ थियो।

यसैगरी प्याब्सनका नवनिर्वाचित अध्यक्ष टीकाराम पुरीले संस्थागत विद्यालयको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै सरकारले निजी विद्यालयप्रति कुनै नकारात्मक धारणा राख्न नहुने बताउनुभयो। पुरीले भन्नुभयो– ‘हामीले धेरैपटक प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत शिक्षासँग सम्बन्धित निकायका अधिकारीसँग कुराकानी गर्दा निजी विद्यालयप्रति सकारात्मक कुरा नै देखिन्छ। निजी विद्यालयप्रति यदाकदा केही भ्रमित कुराहरू सुनिनमा आउँछ। यसलाई चिरेर सरकारसँग सहकार्य गरी शिक्षामा योगदान दिन हामी तयार छौं।’

शिक्षासेवी रानी गुरुङ कक्षपतिले आजको आवश्यकता भनेको नैतिकवान नागरिक उत्पादन गरी राष्ट्रसेवक जनशक्ति बनाउनुपर्ने बताउनुभयो। शुभताराका स्कुलबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई फर्केर हेर्दा देशको विभिन्न सेवामा कार्यरत रहेको भेटिए तापनि राजनीतिमा लागेको नदेखिएकाले अबको आवश्यकता भनेको राष्ट्रनिर्माणका लागि विद्यार्थीहरू राजनीतिमा पनि लागून्् भन्ने चाहना राख्नुभयो।

शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले शिक्षापथ पुस्तक संस्थागत विद्यालयको दस्तावेजका रूपमा प्रकाशित भएको बताउनुभयो। पुस्तकमा ४९ जना संस्थागत शिक्षासेवीहरूको जीवनी समेटिएकाले अब प्रकाशित हुने पुस्तकमा शिक्षाका अन्य विषयहरूलाई समेट्न सुझाव दिनुभयो।

शिक्षालयका प्रधानसम्पादक श्याम तण्डुकारले प्याब्सनसँग धेरै लामो समयदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि संस्थागत रूपमा प्याब्सनसँग निरन्तर रूपमा कार्य गर्ने बताउनुभयो। शिक्षालयका कार्यकारी सम्पादक बालमुकुन्द आचार्यले शैक्षिक विकासमा सरकारी र संस्थागत दुवै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो।