क्षयरोगका ४० बिरामी फेला

94
Shares

लमजुङ, (नेस)
लमजुङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा कार्तिक महिनासम्म जिल्लामा ४० जना विरामी फेला परेका छन् । विगतका वर्षको तुलनामा यो सँख्या कम हो तर पनि यो रोगको नियन्त्रणमा अझै पनि चुनौति रहेको जनस्वास्थ्य कार्यालयले पत्रकार भेटघाट कार्यक्रम गरी जनाकारी दिएको हो ।

गत आर्थिक वर्ष २०७४÷७५ को अवधिमा जिल्लामा एक सय ४२ जना क्षयरोगका विरामी फेला परेका थिए । आर्थिक वर्ष २०७३÷७४ मा एकसय ४९ जना विरामी भेटिएका र आ.व. ०७२÷७३ मा एकसय ५६ जना क्षयरोगका विरामी फेला परेको जिल्ला जन स्वास्थ्य कार्यालयको रेकर्डमा देखिएको सो कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताउनु भयो । उहाँका अनुसार यो तथ्याँक क्षयरोगका विरामीहरु अस्पतालसम्म आएकाहरुको मात्र हो । स्वास्थ्य सँस्थाको पहुँचमा नआएका ग्रामीण भेगहरूमा अझ धेरै क्षयरोगका विरामी हुन सक्ने अनुमान गरिएको चापागाईले बताउनु भयो ।

औषधि सेवन नियमीत नहुँदा रोग झन जटिल हुने भएकोले जिल्लामा डट्स विधि अनुसार स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानिमा विरामीहरुलाई औषधि सेवन गराइदै आएको उहाँले बताउनु भयो । हाल लमजुङमा जिल्ला अस्पतालबाट मात्रै १३ जनाले औषधि लिदै आएका छन् ।

हाल स्वस्थ्य सम्वन्धी सवै कार्यक्रम स्थानीय तहमा गएको हुँदा अव स्थानीय तहमार्फत स्वास्थ्य सेवाका साथ यस रोगका बारेमा सचेतनाका कार्यक्रम प्रभावकारी बनाउन सके क्षयरोगका विरामी घट्ने विश्वास गरिएको उहाँको भनाई छ।