कारागारभित्र सात सदस्यीय पुस्तक क्लब गठन

0
Shares

सिञ्जा ।
जुम्लामा कर्णालीका दश वटै जिल्लामा पुस्तकालय स्थापनामा जुटेको नेपाल प्रहरीले अहिले कारागारभित्र पुस्तक क्लब गठन गर्न थालेको छ । जुम्ला कारागारमा गगनबहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय पुस्तक क्लब गठन गरिएको हो ।

कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, प्रजिअ दुर्गा बञ्जाडे लगायतको टोलीले पुस्तक क्लबको घोषणा गर्नुभएको हो । कारागारभित्र औपचारिक कार्यक्रम गरेर पुस्तकालयको निरीक्षण र पुस्तक क्लब गठन गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस्तकालयमा सात सयभन्दा बढी पुस्तक सङ्कलन भइसकेका छन् । प्रहरी नायब महानिरीक्षक शाहले कर्णालीको जुम्लाबाटै कारागारमा पुस्तकालय निर्माणको सोचको विकास भएको बताउनुभयो । उहाँले पुस्तक क्लब पनि जुम्लाबाटै गठन गर्न थालिएको बताउनुभयो । एक कारागारमा दुई हजारभन्दा कम पुस्तक नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका कैदीबन्दी पुस्तक पढेर असल नागरिकका रुपमा पुनःस्थापित हुनेमा आशा गरेका छौँ ।”

नगरपालिकाका प्रमुख सेजुवालले स्थानीय सरकारले सुधारगृहलाई गर्न सक्ने सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक सकारात्मक परिवर्तनका लागि साथ र सहयोग दिन तयार छौँ ।” उहाँले कैदीबन्दीको सकारात्मक परिवर्तनका लागि स्रोतसाधनले भ्याएसम्मको साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

प्रजिअ बञ्जाडेले पठन संस्कृतिको विकास गर्न कर्णालीका प्रत्येक कारागारमा पुस्तकालय निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पठन संस्कृतिले जीवन रुपान्तरणको यात्रामा लैजान सकिनेमा दुई मत छैन, सकारात्मक सोचको विकास गर्न, ज्ञान सीपको आदान–प्रदान गरी असल नागरिक बन्न प्रेरित गर्नेमा ढुक्क छौँ ।”

प्रदेशका दश वटै जिल्लामा यही चैत २३ गते एकसाथ पुस्तकालय उद्घाटन हुनेछन् । पुस्तकालय स्थापना भएर पुस्तक क्लब गठन भएपछि कैदीबन्दीमा नयाँ उत्साह थपिएको कारागार प्रमुख टङ्कराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तक पढ्न पटक पटक कैदीबन्दीले माग गरिरहेका थिए । झण्डै दुई वर्षको अन्तरालमा पुस्तक पढ्न पाउने सपना साकार भएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।
रासस