बोटमै सुकाइएको गाँजा बरामद

0
Shares

हेटौंडा ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–१ पुगेको प्रहरीले ठूलो परिमाणमा तयारी तथा बोटमै सुकाइएको गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त अपरेसन टोलीले आइतबार विहानै स्थानीयको घरमा सिल गरी गाँजा बरामद गरेको हो । स्थानीयका अनुसार बोटमै सुकाएको अबस्थामा गाँजा बरामद भएको छ भने बोरामा प्याक गरिएको अबस्थामा तयारी गाँजा पनि फेला परेका छन् ।

विहान करिब ४ बजे प्रहरी निरीक्षक पवनकुमार झासमेत टोलीले राक्सिराङ–१, कुपिनटार स्थित कान्छालाल स्यांतानको घरको चोटामा लुकाइराखेको अवस्थामा डाँठसहित १ सय ६० केजी गाँजा फेला पारी बरामद गरेको हो । घरधनी स्यांतान फरार रहेकोले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भइरहेको छ ।

विहानै प्रहरी पुगी स्थानीयको घरमा छापा हाने पनि लागुऔषध कारोबार तथा भण्डारणमा संलग्न व्यक्ति भने पक्राउ परेनन् । प्रहरीले बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयले गाँजा नियन्त्रणका लागि राक्सिराङका विभिन्न वडाहरुमा अपरेसन गरिरहेको छ । गाँजा बरामद गर्न गरिएको अपरेसनको सिको गर्दै प्रहरीको पोशाक लगाएर गाँजा र नगद लुट्ने क्रम बढेको पाइएको छ ।