मुख्यमन्त्रीद्वारा एसइइ निरीक्षण

0
Shares

हेटौंडा ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को निरीक्षण गर्नुभएको छ । आइतबार विहान हेटौंडा–२ मा रहेको सिद्धार्थ मावि र हेटौंडा–९ मा रहेको प्रगति मावि केन्द्र पुगेर उहाँले एसईई निरीक्षण गर्नुभएको हो ।

परीक्षार्थीलाई हौसला प्रदान गर्न तथा एसईई सञ्चालनको जानकारी लिन मुख्यमन्त्री पौडेल केन्द्र पुग्नुभएको हो । सफलतापूर्वक परीक्षा भइरहेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । परीक्षामा सहभागीलाई उहाँले शुभकामना दिनुभयो ।

उहाँले भन्नुभयो–परीक्षामा सहभागी हुनुहुने सबै छोराछोरी, भाइबहिनीमा शुभकामना । समृद्धिको यात्रामा अगाडि बढेका पाइलाहरुले शिखर चुम्न सफल होस्, निरन्तर अगाडि बढ्नुहोस् । सधैं उन्नति प्रगति भएको सुन्न पाइयोस् । अनेकौं अनेक शुभकामना ।

निरीक्षणमा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल पनि सहभागी हुनुहुन्थ्यो । मकवानपुरबाट ५ हजार ९ सय ७७ परीक्षार्थी परीक्षामा सहभागी छन् । ग्रेडवृद्धिका लागि ६७ जना परीक्षार्थी सहभागी छन् । भीमफेदी जेलबाट ६ कैदीबन्दीले परीक्षा दिएका छन् ।