सवारी दुर्घटनामा ९ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
मकवानपुर, धनुषा, भोजपुर, रुपन्देही, बाँके, मोरङ, दाङ र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १४ बदेलधापस्थित भित्री सडकमा शुक्रबार साँझ ना१ज ७८५७ नम्बरको म्याजिकको ठक्करबाट सोही स्थान बस्ने महेन्द्र गुम्बाको १६ महिनाको छोरा प्रयाण गुम्बाको घटनास्थलमै मृत्यु भएको छ । म्याजिक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, हंशपुर नगरपालिका ३ कठपुल्लास्थित सडकमा ज११प ६२१७ नम्बरको मोटरसाइकल र प्रदेश ३–०२–०३ प ४४१० नम्बरको मोटरसाइकल शुक्रबार साँझ एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका ज११प ६२१७ नम्बरको मोटरसाइकल चालक हंशपुर नगरपालिका ५ बस्ने अन्दाजी ३३ वर्षीय रामजतन दाशलाई उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।

भोजपुर, आमचोक गाउँपालिका ९ दुम्मनास्थित सडकमा ना५त ९४३२ नम्बरको ट्याक्टर शनिबार बिहान आफै अनियन्त्रित भई अन्दाजी ८० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार ३ जनामध्ये चालक सोही गाउँपालिका(४ बस्ने २५ वर्षीय भविन्द्र राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही गाउँपालिका(१ बस्ने ४८ वर्षीय शंकर कार्की र सहचालक महोत्तरी वर्दिवास बस्ने अन्दाजी ४० वर्षीय हरी खत्रीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

रुपन्देही, सम्मरीमाई गाउँपालिका ६ महदेईस्थित सडकमा लु२त ७३२५ नम्बरको ट्याक्टरले शुक्रबार राति अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही गाउँपालिका बस्ने ३० वर्षीय बिनोद कहारलाई उपचारको लागि भिम अस्पताल भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका(४ बसपार्क नजिकै सोही स्थान बस्ने भोजपुर घर भएका ४७ वर्षीय दिलबहादुर योञ्जनले ना।५ ख ९७३ नम्बरको मिनीबस ब्याक गर्ने क्रममा पछाडीको चक्काले किच्न जाँदा आफ्नै श्रीमती ३२ वर्षीया सानु योञ्जनको शुक्रबार राति मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक दिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, कानेपोखरी गाउँपालिका ७ स्थित सडकमा ना३ख ६९१८ नम्बरको कन्टेनरमा बा११च ७९४८ नम्बरको टाटा सुमो शनिबार बिहान ठक्कर खाई दुर्घटना हुँदा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका ४ बस्ने ४७ वर्षीय रामकुमार आछामीको घटनास्थलमै र गम्भीर घाइते भएका सोही गाउँपालिका गौरादह बस्ने ३५ वर्षीय प्रकाश मगरको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको पथरी अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका २ नन्दगाउँस्थित सडकमा रा१च ३४६ नम्बरको पिकअप गाडीले बा९७प ५८६२ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिदाँ मोटरसाइकल चालक दंगीशरण गाउँपालिका ६ थापागाँउ बस्ने १८ वर्षीय गोरख चौधरीको घटनास्थलमै मृत्यु भएको छ । गाडि र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, ब्यास नगरपालिका १२ घाँसीकुवास्थित सडकमा बिग्रीएर बनाउन लागेको ना१ख ६१६२ नम्बरको ट्रकलाई ना८ख ३५२७ नम्बरको ट्रकले शनिबार बिहान ठक्कर ना।१ ख ६१६२ नम्बरको ट्रकका चालक चितवन टाँडी नगरपालिका बस्ने २५ वर्षीय सन्तोष राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ना।१ ख ६१६२ नम्बरको ट्रकको सहचालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी १७ वर्षीय किरण राईलाई उपचारको लागि पोखरातर्फ लगिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।