बिम्स्टेक सुरक्षा बैठकः सङ्गठित अपराधको सामनाका निम्ति फलदायी

0
Shares

काठमाडौँ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सुरक्षा अधिकारीको तेस्रो बैठकले साइबर अपराध, आतङ्ककारी गतिविधि, मानव बेचबिखन, लागुऔषध कारोवार तथा तस्करीलगायत सङ्गठित अपराधको सामना गर्न उत्प्रेरित गरेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ ।

बैठकमा सहभागी भएर आज राजधानी फर्कनुभएका उहाँले प्रविधिमा आधारित सुरक्षा चुनौतीलाई सामना गर्न र देशभित्र तथा अन्तरदेशीय अपराध नियन्त्रण गर्न उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गरी सदस्य राष्ट्रले डटेर सामना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

बैठकमा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराअनुरुप बिम्स्टेक सदस्य राष्ट्रलाई शान्त र सुरक्षित बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्ध सन्देश सुनाउनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिम्स्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको उक्त बैठकमा आतङ्कवाद, हातहतियार, लागुऔषध, मानव बेचबिखनलगायतका सङ्गठित अपराध तथा विपद् व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा छलफल भएको थियो । बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव आदानप्रदान भएको थियो ।

यही फागुन ६ गते उहाँसँगै थाइल्याण्ड जानुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापा पनि आजै स्वदेश फर्कनुभएको छ । तीन वर्षदेखि वार्षिकरुपमा बिम्स्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक०ले मुख्य १४ वटा विषयलाई मुख्य प्राथमिकताका क्षेत्रमा राखेको छ ।
रासस