जब गुडिरहेको बसमा माथिबाट ढुंगा बर्सियो !

0
Shares

पर्वत ।
गुडिरहेको बसमा ढुंगा खस्दा पर्वतको कुस्मा अर्मादीमा दुई जना यात्रु घाइते भएका छन ।
पोखराबाट मुस्ताङ्ग तर्फ जाँदै गरेको बसमा ढुंगा खस्दा एक जना भारतीय पर्यटक सहित दुई जना यात्रु घाइते भएका हुन ।
पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा सडक निर्माणका क्रममा डोजरले खन्दा शनिवार दिउँसो सडक माथिबाट खसेको ढुंगा बसभित्र छिरेको थियो । ग१ख ५५९६ नम्बरको पर्यटक बसमा सडक माथिबाट खसेको ढुंगाले लाग्दा ८० बर्षिय भारतीय पर्यटक मनुभाई पट्टेल र पोखराका १९ बर्षिय सुनिल पौडेले घाईते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । बसका सह–चालक रहेका सुनिल र भारतीय नागरिक पट्टेलको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

मध्य पहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्ड स्तरउन्नतीको क्रममा अर्मादीमा भिर काट्ने काम भैरहेको छ । सवारी साधन रोकेर स्काभेटरले भीर काट्नु पर्नेमा सवारी साधन गुडिरहँदा स्काभेटर अपरेटरले अटेर गर्दा दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शी यात्रुले बताएका छन ।

जब भिभीआईपी नै जाममा परे
गुडिरहेको बसमा ढुंगाले लागेर यात्रु घाइते भएपछि सडकको कुस्मा– अर्मादी खण्डमा केहीबेर सडक नै अबरुद्ध हुन पुगेको थियो ।
सडक अबरुद्ध हुँदा बागलुङ्गमा आयोजित नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल शिलन्यास गरेर पोखरा तर्फ फर्कदै गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समेत जाममा परेका थिए ।

यात्रु घाइते भएको र सडक जाम भएको अबस्थामा अध्यक्ष तिमिल्सीनाले घाइतेका आफन्तलाई सडकमा झरेर भेट गर्दै नआत्तिन आग्रह पनि गरे । उनले घाइतेको अबस्था हेरी हेलिकप्टरमा नै उपचारका लागि पठाउन पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सहितका सुरक्षा प्रमुखलाई निर्देशन पनि दिए । उनले घाइतेको उपचारको ब्यबस्था हुने र मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरमा राम्रो संग पुजाआजा गरेर फर्कन पर्यटकहरुलाई आग्रह पनि गरेका थिए ।