निजीसँग प्रतिस्पर्धाको रणनीतिमा नेपाल टेलिभिजन

0
Shares

हेटौंडा ।
नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजनले आफ्ना पत्रकारलाई प्रविधियुक्त बनाएर निजी टेलिभिजनसँग प्रतिस्पर्धा गर्ने तयारी थालेको छ । सरकारी टेलिभिजनमा कार्यरत् पत्रकारले निजी सञ्चारमाध्यममा समाचार आइसकेपछि समाचार पस्कने भन्दा पनि पहिलो र उत्कृष्ट बनाउने अभियान सुरु गरिएको हो ।

‘विकासका लागि सञ्चार’ को नारासाथ २०४१ सालमा नेपाली टेलिभिजनको इतिहासमा पहिलो टेलिभिजन नेपाल टेलिभिजन स्थापना भएको थियो । यो अहिले भूसतही माध्यमबाट ५२ प्रतिशत भूगोल र ७२ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ ।

सात वटै प्रदेशका टेलिभिजन संवाददातालाई नयाँ प्रविधि हाइ डेफिनेसन (एचडी) मा रुपान्तरण भएको सन्दर्भमा तालिम दिइएको छ । त्यसैक्रममा हेटौंडामा दुई दिने तालिम दिएर पत्रकारलाई जिम्मेवार भएर छिटो र छरितोरुपमा समाचार पस्कने अभियानमा लागिएको नेपाल टेलिभिजन कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले बताउनुभयो ।

‘नेपाल टेलिभिजन पहिलो नै हुन्छ,’ उहाँले भन्नुभयो–राजनीतिक अभिष्ट पूरा गर्ने अखडा नेपाल टेलिभिजन हुन सक्दैन । टेलिभिजनमार्फत् देशसेवा गर्ने सोच राखेर आउनेलाई स्वागत छ ।
टेलिभिजनको नेतृत्व सम्हालेदेखि नै असारदेखि कार्यकारी अध्यक्ष डा. बिष्टले नेपाल टेलिभिजनका चारवटै च्यानललाई एचडीमा प्रसारण गराउन सार्थक तयारी सुरु गर्नुभएको थियो । नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सवका अवसर पारेर प्रसारण एचडीमा रुपान्तरण गरिएको अध्यक्ष डा. बिष्टले जानकारी दिनुभयो ।
नेपालको सबभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रुपमा ख्याति कमाएको नेपाल टेलिभिजनलाई नाराअनुसार रुपान्तरणका लागि ‘समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको अध्यक्ष बिष्टले बताउनुभयो ।

‘समृद्ध नेपालको आधार’ राष्ट्रिय लक्ष्य भेट्टाउन नेपाल टेलिभिजनले आफ्नो प्रयास गर्ने अध्यक्ष बिष्टले बताउनुभयो । विविधतामा एकताको हाम्रो भावनालाई बलियो तुल्याउन र सभ्य अनि सुसँस्कृत नेपाली समाज निर्माण गर्नमा टेलिभिजन क्रियाशील हुने डा. बिष्टको दाबी छ ।

अध्यक्ष डा. बिष्टले टेलिभिजनको समाचार कक्षलाई स्वतन्त्र र व्यावसायिक बनाउन राष्ट्रको आकांक्षालाई सम्बोधन गर्ने र जनताकेन्द्रित मार्गदर्शन दिइएको बताउनुभयो । उहाँले सञ्चारक्षेत्र आलोचक हुनुपर्ने भए पनि अब नकारात्मक भइरहनुपर्ने अवस्था नरहेको जनाउनुभयो ।
अध्यक्ष बिष्टले टेलिभिजन प्रसारणजगत्मा अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै नेपाल टेलिभिजनले नयाँ उचाईं हासिल गरेको बताउनुभयो । देशको साँस्कृतिक, भौगोलिक र भाषिक विविधतालाई झल्काउँदै राष्ट्रिय एकता मजबुत बनाउने अझ भूमिका खेल्ने बिष्टले स्पष्ट पार्नुभयो । दर्शकले नेपाल टेलिभिजन, एनटिभी न्युज, एनटिभी प्लस र एनटिभी कोहलपुर गरी चारै च्यानल एचडीमा हेर्न पाएका छन् ।
प्रदेश–३ र गण्डकी प्रदेशका नेपाल टेलिभिजनका पत्रकार सहभागी गराएर दिइएकोकार्यक्रममा प्रदेश–३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पत्रकारजगत्ले ऐनाको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जिम्मेवार भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । हाल सरकारका लागि चुनौती भनेको भ्रष्टाचारको समस्यामा निजी वा सरकारी दुवै सञ्चारमाध्यमले कलम चलाउनुपर्ने उहाँले औंल्याउनुभयो ।

अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा प्रदेशलाई आधुनिकीकरणमा प्रवेश गराइने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ । हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षासाथ अघि बढिरहेका छौं । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौं ।

नेपाल टेलिभिजनलाई उत्कृष्ट बनाउने अभियानमा आफूहरु होमिएको बताउँदै महाप्रवन्धक गोबिन्द रोक्काले नेपाल टेलिभिजनलाई नेपालको उत्कृष्ट टेलिभिजन बनाइने दाबी गर्नुभयो । महाप्रवन्धक रोक्काले नयाँ प्रविधिसँगै विषय र प्रस्तुतिमा पनि रुपान्तरणको वर्ष आरम्भ भएको बताउनुभयो ।

नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्था (पीएसबी) मा जान आग्रह गरिएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पीएसबीमा लैजान कानुनी प्रवन्ध हुन भने बाँकी छ ।