नेपाली सेनालाई प्रम मातहत राख्ने सुरक्षा विधेयकमा काँग्रेसको असहमति

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली सेनालाई प्रधानमन्त्री मातहत राख्नेगरी मस्यौदा भएको राष्ट्रिय सुरक्षा विधेयक प्रति नेपाली काँग्रेसको असहमती रहेको बताउँदै उक्त विधेयक सदनबाट पास हुन नसक्ने चेतावनी दिनुभएको छ । पूर्व रक्षामन्त्री समेत रहनुभएका काँग्रेस प्रमुख सचेतक खाँणले नेपाली सेना, राष्ट्रियता र भौगोलिक अखण्डता बिगार्ने काम भए नेपाली काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभएको हो ।

तिलोत्तमा नगरपालिका वडा नं. ८ मा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशिल वितरण तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नेता खाँणले नेपालबाट मधेश (तराई)लाई खण्डित गर्नेगरी सरकारले सिके राउतसंगै जनमत संग्रहको संझौता गरेको आरोप लगाउँदै मुलुक विखण्डन गर्नेगरी जनमत संग्रह हुनै नसक्ने जिकिर गर्नुभयो ।

मधेश टुक्रयाउने अभिव्यक्ति दिने सिके राउत र एक वर्ष अंगाडीसम्म मधेशी जनतालाई नेपाली नै नमान्ने प्रधानमन्त्री केपी ओली बिच देश विखण्डनकालागि सम्झौता भएको उहाँले दावी गर्नुभयो । त्यस्तै उहाँले निर्माचन आयोगमा दर्ता नै नभएको विप्लव समुहलाई सरकारले अनावश्यक रुपमा राजनीतिक प्रतिवन्ध लगाएर झनै भड्काउने काम गरेको समेत आरोप लगाउनु भयो ।

संवैधानिक व्यबस्था अनुसार प्रदेश तथा स्थानीय तह स्थापना भएपनि संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको बताउँदै स्वयम् प्रधानमन्त्री ओलीलाई लोकतन्त्र र संघीयता प्रति विश्वास नरहेको बताउनु भयो ।

उहाँले सरकारले जनताको जीउज्यान र जनताको सम्पत्तिको रक्षा गर्नुपर्नेमा जनताको जमिनको स्वामित्व खोसेर राष्ट्रियकरण गर्न खोजेको आरोप लगाउँदै यस्तो काम नेपाली काँग्रेसलाई स्वीकार्य नरहेको उल्लेख गर्दै त्यसका लागि जस्तो सुकै मुल्य चुकाउन नेपाली काँग्रेस तयार रहेको बताउनु भयो ।

पूर्व पश्चिम राजमार्गको नारायण्गढ–बुटवल सडक खण्ड बिस्तार आयोजनाको अहिले सिलान्यास गर्नुको कुनै औचित्य नरहेको उहाँले प्रतिक्रिया दिनुभयो । उक्त सडक आयोजनाको शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले बुटवलमा सिलान्यास गर्नुभएको थियो । २०१९ सालमा तत्कालिन राजा महेन्द्रले बनाएको स्मरण गराउँदै नेता खाँणले अहिले आएर सिलान्यास गर्नुका कुनै औचित्य नभएको बताउनु भएको हो । उहाँले तीन वर्ष अंगाडी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तत्कालिन भौतिक पूर्वाधार बिकास मन्त्री रमेश लेखकको पालामा काम सुरु भएको सडकको आफूले काम गरेको देखाउन अहिले प्रधानमन्त्री केपी ओलीले बाजा बजाएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनताले जुन बिश्वासले कम्युनिष्टलाई मत दिएका थिए अहिले सरकारले जनताको बिश्वासमा कुठाराघात गर्ने काम गरेको आरोप लगाउनु भयो ।

वडा सभापति केशवराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति प्रेमबहादुर फौदार, वडा सचिव राजेन्द्र केसी लगायतले भनाई राख्नुभएको थियो । त्यस अवसरमा ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने बिभिन्न पार्टी परित्याग गरि २५ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै त्यस वडामा १०७ जनालाई नेपाली काँग्रेसले क्रियाशिल वितरण गरेको छ ।