हिक्मत नेपाली, दैलेख ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ मा नेपाल प्रहरीको अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्र रहेको डाडाँपराजुलमा अस्थायी प्रहरी बिट स्थापना गरिएको दैलेखका प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । स्थानीय तहको सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै गाउँपालिका÷नगरपालिकाको कार्यालय नजिकै प्रहरीको बिट स्थापना गर्ने लक्ष अनुसार डुङ्गेश्वर गाउँपालिकाको केन्द्रमा बिट स्थापना गरिएको उहाँको भनाई छ । प्रहरी बिटमा हवल्दारको कमाण्डमा पाँच जना प्रहरी कर्मचारी खटाईएको प्रहरी नायब उपरिक्षक पोखरेलको भनाई छ ।
डुङ्गेश्वर गाउँपालिका भित्र दुई वटा प्रहरी चौकीहरु रहेपनि गाउँपालिकाको कार्यालय नजिकै प्रहरीको संरचना नहुँदा असुरक्षा बढेको भन्दै गाउँपालिकाले प्रहरी बिट स्थापनाका लागि पहल गरेको थियो । ‘गाउँपालिकाको वडा नं. ६ माथिल्लो डुङ्गेश्वर बजारमा स्थायी प्रहरी चौकी भएपनि त्यहाँबाट गाउँपालिकाको कार्यालय ८ किलोमिटरको दुरीमा थियो,’ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले भन्नुभयो ‘गाउँपालिकाको सुरक्षा संवेदनशीलतालाई मध्यनगर गर्दै प्रहरी बिट स्थापना गरिएको हो ।’
गाउँपालिकाको कार्यालय नजिकै स्थापित सो बिटले चौबीसै घण्टा सुरक्षा निगरानी गर्ने प्रहरीले जनाएको छ । बिटको बिहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बिट उद्घाटनमा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ल, उपाध्यक्ष सिता ज्ञवाली, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेल, गाउँपालिकाका जनप्रतिनीधि तथा स्थानीय नागरिकको उपस्थिती रहेको थियो । प्रहरी बिट स्थापना भएपछि आफूहरुले सुरक्षाको आभाष गरेको स्थानीय नागरिकहरुले बताएका छन् ।











प्रतिक्रिया