कपिलवस्तुमा १ सय २२ सवारीसहित २० जना प्रहरी नियन्त्रणमा

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
होलीको अवसरमा ट्राफिक नियम उलङ्घन गरी सवारी चलाएको भन्दै कपिलवस्तु प्रहरीले १सय २२ सवारी नियन्त्रणमा लिएको छ । साथै २० जनालाई पक्राउ समेत गरेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

दुईभन्दा बढी सवारी बसालेर मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्दै नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सूचना प्रवक्ता रबि रावलले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको मध्ये १सय १९ मोटरसाइकल, २ वटा कार र एउटा ट्रेक्टर रहेको प्रवक्ता रावलले बताउनुभयो । अप्रिय घटना नहोस् भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट चेकजाँचका क्रममा ती सवारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले जिल्लाको तौलिहवा क्षेत्रबाट ५७ मोटरसाइकल, १ कार र १ ट्रेक्टरसहित ४ जनालाई नियन्त्रणमा लिएको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाले ११ मोटरसाइकलसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो । होलीलाई विकृतिको रुपमा मनाउनेहरुलाई विशेष निगरानी बढाएको प्रहरी निरीक्षक उपाध्यायले बताउनुभयो ।

यता जिल्लाको गोरुसिंगे क्षेत्रबाट १९ मोटरसाइकल र ३ व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । यस्तै पिपरा क्षेत्रबाट २९ मोटरसाइकल र १ कारसहित ९ जनालाई नियन्त्रणमा लिएको थियो भने पकडी क्षेत्रबाट ३ मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उत्छृङ्खल गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युत्तम प्रसाद पुडासैनीले जानकारी दिनुभयो ।