सरकारको गतिविधिले देश फेरी द्धन्दमा फस्छः नेता लेखक

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका गतिविधिले देश फेरी द्वन्दको भूमरीमा फस्ने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस बैतडीले आज शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको अन्तरक्रिया तथा गिरीजाप्रसाद कोइराला स्मृति दिवस समारोहमा बोल्दै नेता लेखकले वर्तमान सरकार अधिनायकवादी बाटोमा लागेको आरोप लगाउनुभयो ।

वर्तमान सरकारका कारण एक बर्षकै अवधिमा नेपाली जनतामा निराशा छाएको उहाँको दाबी छ । वर्तमान सरकारले विकास निर्माणका कामहरुलाई अगाडि बढाउन नसकेको आरोप लगाउँदै कांग्रेस केन्द्रिय सदस्य लेखकले विगतमा शुरुवात गरेका योजनाहरु समेत अलपत्र अवस्थामा रहेको दाबी गर्नुभयो । ‘कम्युनिष्टहरुले चौबाटोमा छोडेको संविधान नेपाली कांग्रेसले निर्माण गरेको दाबी गर्दै नेता लेखकले विकास निर्माणका कामहरु पनि नेपाली कांग्रेसले नै पूरा गर्ने बताउनुभयो । विप्लव नेतृत्वको माओवादी प्रति सरकारले देखाएको कडापन प्रति लक्षित गर्दै नेता लेखकले कम्युनिष्टहरु नै देशलाई द्वन्दमा फसाउन उद्दत रहेको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य रमेश लेखक प्रमुख अतिथी रहनुभएको थियो । सो कार्यक्रममा पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट, महासमिति सदस्य चतुरबहादुर चन्द, पाटन नगरसभापति सिद्धराज भट्ट, महासमिति सदस्य विष्णुदत्त जोशी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ११० जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।