मह उत्पादनमा बढ्यो, भारतमा समेत निर्यात

0
Shares

विनोद सिंह विष्ट, बैतडी
यस वर्ष बैतडीमा मह उत्पादनमा वृद्धी भएको छ । कृषी ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लामा गत वर्ष भन्दा यो वर्ष मह उत्पादनमा वृद्धी भएको छ ।

करिब १२० मेट्रीक टन मह यो वर्ष उत्पादन भएको कृर्षी ज्ञान केन्द्र बैतडीका निमीत्त प्रमुख कर्ण बहादुर चन्दले बताए । उनका अनुसार गत वर्ष ९५ मेट्रीक टन मह मात्र उत्पादन भएको थियो । आधुनीक मौरी घारको वृद्धी हुनु , मौरीमा कुनै रोग देखा नपर्नु , फलफुलहरु राम्रो हुनुले मह उत्पादनमा वृद्धी भएको हो ।
चन्दका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका , सिगास गाउँपालिकाको गाँजरी , ढुङगाड , मेलौली नगरपालिकाको उदयदेव , विशालपुर मह उत्पादनको पकेट क्षेत्र मानीन्छन् । यस्तै दोगडाकेदार गाउँपालिकाको श्रीकोट , देउलेक , सित्तड , डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर पनि मह उत्पादनको पकेट क्षेत्र हुन् ।

मह उत्पादनमा वृद्धी हुदाँ किसानहरु पनि खुसी भएका कृर्षी ज्ञान केन्द्र बैतडीका निमीत्त प्रमुख चन्दले बताए । यो वर्ष मह उत्पादन राम्रो भएकोले किसानहरुको आयआर्जनमा पनि सुधार हुने अपेक्षा गरीएको छ ।
मह उत्पादनमा वृद्धी हुदा खुसी लागेको बताउदै दशरथचन्द नगरपालिका ४ का मौरीपालक किसान बासुदेव भट्टले महबाट राम्रो आम्दानी भएको बताए ।

यहाँको मह पूर्ण अग्र्यानिक हुने भएकाले माग बढेको हो । उनले भने “उपभाक्ताहरुले फिल्टर गरेको मह भन्दा चाकासहितको मह किन्न रुचाउने गर्छन, तर चाकाको महमा उपभोक्ताहरुलाई घाटा हुन्छ”,
उपभोक्ताले किसानप्रतिको अविश्वासले चाका सहितको मह किनेपनि उक्त महमा रहेको चाका खानयोग्य नहुने भएकाले उपभोक्तालाई घाटा हुने गरेको छ ।

एउटा घारबाट औषतमा बार्षिक १० देखी १५ किलोसम्म मह उत्पादन गर्न सकिने कृषकहरु भनाई रहेको छ । यस बर्ष फूल फुल्ने बेला पानी नपरेको मह उत्पादनमा बृद्धि भएको हो ।

कार्तिक र मंसिरमा उत्पादन हुने चिउरीको महलाई औषधीको रुपमा लिने गरेका छन । हाल ८ सय किलोका दरले मह बिक्री गरिने गरेको छ ।
जिल्लाभर रहेका मौरीपालक कृषकलाई समूहमा आवद्ध गर्ने लक्ष्य लिईएको छ । हाल बैतडीमा डेढ हजार बढी माहुरी पालक किसानहरु रहेकोमा मध्ये ६ सय बढी कृषक उद्यमी समुहमा आवद्ध रहेका लघु उद्यमी समुह संघका अध्यक्ष इन्द्रदेव भट्टले बताए ।

माहुरीमालकहरु सहकारी, कृषक समुह, घरेलु कार्यालयसँग आवद्ध छन् । ९ हजार घारबाट बार्षिक १२० मेट्रीक टन मह उत्पादन हुने गरेको जनाईएको छ ।
धेरै जसो कृषकले ५ देखी १० घारसम्म माहुरी पालेका छन , सबैलाई समुह सहकारीमा आवद्ध गर्न सके कृषक र ग्राहक दुवैलाई फाइदा हुने लघु उद्यमी समुह संघले जनाएको छ ।

बिगतका बर्षहरुमा टीन र डिब्बामा राखेर बेचिदै आएको मह गतबर्षदेखि लघु उद्यमी समुह संघले प्याकिड्ड, म्याद निर्धारण र गुणस्तरको बारेमा जानकारी सहित बेच्न थालेको छ ।

हाल बैतडीमा उत्पादन भएको मह भारतको उत्तराखण्डका साथै नेपालको तराई र काठमाडौँसम्म जाने गरेको छ ।