म्याग्दीमा होली हर्षोल्लासपूर्वक मनाइयो

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
रङहरुको पर्व होली यसवर्ष म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली) पर्व सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा साथीभाई र आफन्तहरुबीच एकापसमा रङ लगाएर मनाइएको हो ।

होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले आ–आफ्नो उमेर समूह बनाएर एक अर्कामाथि विभिन्न प्रकारका रङहरु दलेर शुभकामना साटासाट गरी होली पर्व मनाएका छन् । होली पर्वमा साना बालबालिका, युवापुस्ता, शिक्षक, विद्यार्थी, सर्वसाधारण, उद्योगी, व्यापारी, कर्मचारी, संघसंस्था लगायतले सहभागिता जनाएका थिए । होलीमा विभिन्न प्रकारका रङ लगाउँदै म्युजिकको तालमा गाउँदै, नाच्दै युवापुस्ता र बालबालिकाहरु रमाए ।

स्कुले बालबालिकाहरुले समेत आ–आफ्नो अनुहारमा विभिन्न किसिमका रङहरु दलेर होली पर्व मनाएका छन् । बेनीबजारका सडक तथा गल्लीसँगै घरका ब्रान्ड र छतबाट पानी छ्याप्ने, लोला हान्नुका साथै अबिर फ्याँकेर रमाइलो गरिएको थियो । यसैगरी अण्डा समेत प्रहार गरिएको थियो । होलीमा सहभागी युवाहरु गीतसङ्गीतमा छमछमी नाचेका थिए । बेनीबजारसहित जिल्लाको अन्य बजार क्षेत्रमा होली विशेष कार्यक्रम गरिएको छ ।

यसैबीच होलीलाई लक्षित गरी प्रहरीले बेनीबजार तथा आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको जानकारी दिएको छ । परिचित वा अपरिचित जो भए पनि एकापसमा रङ लगाएर उल्लासमय वातावरणमा होली मनाउन तथा मर्यादित बनाउनका लागि हिँजो अस्तीको तुलनामा आज विभिन्न ठाउँमा सुरक्षा शक्ति बढी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा शान्तिपूर्ण रुपमा होली पर्व मनाइएको र अप्रिय खालको कुनै पनि घटना नघटेको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिहरुमध्ये होलीको आफ्नै किसिमको महत्व रहेको छ । रङहरूको पर्व होलीको दिन पुराना कटुता समाप्त गर्ने, नकारात्मक सोचको अन्त्य गरी खुसी साट्ने दिनका रुपमा पनि होली मनाउने गरिएको पाइन्छ । होलीमा लगाइने रङहरुको आ–आफ्नै विशेषता रहेकाले अरुको भावना विपरित रङ लगाउनु पर्वको मान्यताभन्दा बाहिर हुनेहुँदा सहमति र सहकार्यका लागि होली पर्वको महत्व रहेको छ ।

हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होलीको आफ्नै खालको विशेषता रहेको छ । थकाली समुदायमा प्रमुख चाडका रुपमा मानिने हुँदा उनीहरुले मङ्गलबारदेखि नै होली पर्व मनाउन सुरु गरेका छन् ।