बर्ड फ्लू फैलिँदा धौलागिरीमा कुखुरा आयतमा रोक

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
कास्की लगायतका छिमेकी जिल्लाहरुमा बर्डफ्लू देखिएपछि धौलागिरीमा कुखुरा आयातमा रोक लगाइएको छ ।
केही दिन यता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वत सहित साविक धौलागिरीका बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गमा समेत कुखुरा आयतमा रोक लगाइएको हो ।

पोखरा– बागलुङ्ग सडकको धौलागिरी प्रबेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पन्थीजन्य बस्तुहरु आयतमा रोक लगाइएको कुस्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिनुभयो । कास्की, चितवन, मकवानपुर लगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाई छ ।

डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई वटा गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ । कुस्मा र म्याग्दी तथा जोमसोम तर्फ बिक्रीका लागि लगिदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो । स्थानिय ब्यबसायी र स्वास्थ्यकर्मीको समेत उपस्थितिमा भित्रन लागेका कुखुराहरु कुनै पनि प्रमाणित कागजात बिनै बिक्रीका लागि म्याग्दी र मुस्ताङ्ग तर्फ लैजादै गरेको पाइएको थियो ।

कास्कीमा बर्डफ्लू देखिएपछि पर्वत सहितका छिमेकी जिल्लाहरु पनि उच्च जोखिममा रहेका छन । छिमेकी जिल्लाबाट पंक्षीजन्य उत्पादनहरु बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।