राष्ट्रियसभाको भूमिका बढाउन सांसद पन्थको माग

0
Shares

काठमाडौँ ।
राष्ट्रियसभाका सांसद प्रकाश पन्थले राष्ट्रियसभाको भूमिका बढाउन माग गर्नुभएको छ ।
मंगलबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसद पन्थले राष्ट्रियसभालाई विज्ञ, अनुभवी र परिपक्व राजनीति गर्नेको थलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

पन्थले अन्यत्र अवसर र मौका नपाएकालाई राजनीतिक दलले कार्यकर्ता थन्क्याउने ठाउँको रुपमा यसलाई हेर्न नहुने बताउनुभयो । ‘राष्ट्रियसभाको गरिमा बढी छ तर यसलाई त्यो भावना अनुसार लान सकिएन’ पन्थले भन्नुभयो ‘ जनताको हकहित र दैनिक सवाल उठाउन नसकिए यसको प्रभावकारिता जनतालाई बुझाउन सकिँदैन ।’

नेपाली कांग्रेसका सांसद पन्थले कतिपय अवस्थामा विधेयकमाथि छलफल नै नगरी सिधै पारित गरिएकाले विधेयक के र कस्तो आयो भन्नेमा सांसद नै अन्यौलमा परेको समेत बताउनुभयो ।

सांसदहरुले बजेट बाँड्नुभन्दा पनि ३ तहका सरकारले गरेको बिकास र योजनाको अनुगमन, निरीक्षण गरेर सल्लाह र सुझाव दिनुपर्नेमा उहाँको जोड छ । सरकार शान्ति सुरक्षा स्थापना गर्ने, परराष्ट्र सम्बन्ध कायम गर्ने, संविधानले प्रदान गरेको अधिकारलाई संघीय सञ्रचनाबमोजिम बितरण गर्न नसकेको उहाँको आरोप छ । उहाँले संसदीय समितिको अधिकार क्षेत्र जुधेकाले कुन समितिले के हेर्ने र के के गर्ने भन्नेसमेत अन्यौल भएको बताउनुभयो ।

पन्थले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै दिन बसेकाले पनि राष्ट्रियसभामा बोलेका र उठाइएका सवाल सञ्चारमाध्यमको प्राथमिकतामा नपरेको बताउनुभयो । उहाँले राष्ट्रिय समस्या समाधानको लागि सरकारले विपक्षी र सरोकारवालासँग छलफल गरेर निकास दिनुपर्नेमा जोड दिनुभयो ।