स्वरोजगार बनाउन प्युठानमा ड्राइभिङ तालिम

0
Shares

सलिम अन्सारी, प्युठान ।
बेरोजगार युवाहरुका लागि प्युठानको सरुमारानी गाउँपालिकाले दुई महिने सिपमुलक तालिम दिन शुरु गरेको छ । गाउँपालिका भित्रका वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ ३५ जना युवालाई स्वरोजगारमुलक ड्राइभिङ तालिम दिन थालिएको सरुमारानी गाउपालिका कार्यालयले जानकारी दिएको छ ।

गाउँपालिकाको ६० प्रतिशत आर्थिक सहयोग तथा प्रशिक्षार्थीको ४० प्रतिशत लगानीमा उक्त तालिम शुरु गरिएको हो । दुई महिनासम्म संचालन गरिने तालिम प्युठानको दर्भान बजारमा हुनेछ । तालिमको मंगलबार उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरबहादुर वलीले उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत युवालाई लक्षित गरि तालिम दिन लागेको बताए ।

‘युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम संचालन गरेका हौं’ उनले भने।
यहाँ सिकेको सिपलाई व्यवहारमा उतारेर युवाहरुलाई स्वरोजगार बन्न आग्रह गर्दै उनले यो कार्यक्रमले अपेक्षित नतिजा हासिल गर्ने विश्वास समेत व्यक्त गरे । युवाहरुले सीप सिकेर व्यवहारमा लागू गर्न सकेमा सरुमारानीको गरिबी निवारणमा समेत फाईदा पुग्ने उनको भनाई छ। गाउँपालिकाको यो कार्यलाई यहाँका युवाहरुले अवसरको रुपमा लिएका छन ।
वेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्य लिएर ड्राइभिङ तालिम शुरु गरेकाले खुशी लागेको सहभागीहरुले बताए । ड्राइभिङ तालिम वेरोजगार युवाको लागि प्रयाप्त नभए पनि केही युवाको लागि स्वरोजगारको बाटो बन्ने सहभागीले बताएका छन् । अहिले ड्राईभिङ तालिम दिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अरु भिन्न किसिमका तालिम संचालन गर्दै जानुपर्ने सहभागीहरुको भनाई छ ।