पहिलोपटक उपाध्यक्षद्धारा बैठक प्रारम्भ र अन्त्य

0
Shares

गंगा बराल, काठमाडौं ।
राष्ट्रियसभामा मंगलबार पहिलोपटक उपाध्यक्ष शशिकला दहालले बैठक प्रारम्भ र अन्त्य गर्नुभएको छ ।
राष्ट्रियसभा नियमावली, २०७५ संशोधन गरेपछि उपाध्यक्षले मंगलबार पहिलोपटक बैठक प्रारम्भ र अन्त्य गर्नुभएको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नियमावली संशोधन गर्ने जिम्मेवारी पाएको राष्ट्रियसभाका अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले बताउनुभयो ।

‘नियमावली संशोधन भएपछि मंगलबारबाट उपाध्यक्षले बैठक प्रारम्भ र अन्त्य गर्नुभएको हो’ पौडेलले भन्नुभयो ‘ अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हेटौंडा जानुभएको छ ।’

संशोधित नियमावलीमा भनिएको छ ‘अध्यक्षले उपाध्यक्षलाई लिखित आदेश दिएमा वा अध्यक्ष काबुबाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा उपाध्यक्षले बैठकको प्रारम्भ र स्थगन गर्न वा अध्यक्षले प्रारम्भ गरेको बैठकलाई स्थगनको घोषणा गर्नेछ ।’

यसअघिको नियमावलीमा ‘अध्यक्षले बैठकको प्रारम्भ र अन्त्यको घोषणा गर्नेछ’ भन्ने व्यवस्था थियो । संविधानको धारा ९२ मा ‘राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था’ छ । धारा ९२ को उपधारा (४) मा ‘अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ’ भन्ने व्यवस्था छ ।

मंगलबार राष्ट्रियसभाको ३२ औं बैठक बसेको थियो । संघीय संसदको चालु तेस्रो अधिवेशन पौष ११ गतेबाट सुरु भएको हो । कतिपय प्रदेशमा उपसभामुखले बैठकको प्रारम्भ र अन्त्य गर्न थालेका छन् । प्रतिनिधिसभाकी उपसभामुख, राष्ट्रियसभाकी उपाध्यक्षसहितको उपस्थितिमा प्रदेश उपसभामुखको पौष २ गते काठमाडौंमा भएको भेलाले उपसभामुखलाई पनि बैठक सञ्चालन र अन्त्य गर्ने अधिकार नदिएको भन्दै उपसभामुखहरुले गुनासो गरेका थिए ।

संघीय संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले प्रतिनिधिसभाकी उपसभामुखलाई पनि बैठक प्रारम्भ र अन्त्य गर्ने जिम्मेवारी दिने तयारी भइरहेको जनाउनुभयो ।