१ सय १९ स्थानीय तहलाई एम्बुलेन्स र दमकल

0
Shares

हेटौंडा ।
प्रदेश–३ सरकारले प्रदेशका १ सय १९ स्थानीय तहका नगर क्षेत्रलाई दमकल र गाउँपालिकालाई एम्बुलेन्स दिने भएको छ ।
उक्त सहायता प्रदानका लागि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै स्थानीय तहलाई एम्बुलेन्स र दमकलको आवश्यकताबारे विवरण उपलब्ध गराउन माग गरेको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

गाउँमा एम्बुलेन्स नभएका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने वाध्यता छ । यसलाई मध्यनजर गरेर प्रदेश सरकारले गाउँपालिकालाई केन्द्रित गरेर एम्बुलेन्स दिन लागेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

गाउँपालिकाले आवश्यकताका आधारमा प्रदेश सरकारसँग माग गरेपछि एक गाउँपालिकाले एक एम्बुलेन्स प्राप्त गर्नेछ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आगलागी भएको समयमा तत्काल आगलागी नियन्त्रण गर्न सकियोस् भन्ने उद्धेश्यले दमकल दिन लागिएको हो ।

पछि थपिएका नगरमा दमकल अभावका कारण नगरमा कतैबाट दमकल बोलाएर आगलागी नियन्त्रण गर्नुपर्ने बाध्यता छ । यही बाध्यतालाई मध्यनजर गरेर प्रदेश सरकारले नगर क्षेत्रलाई दमकल दिने निर्णयअनुसार संख्या माग गरिएको हो । गाउँपालिका र नगर क्षेत्रमा एम्बुलेन्स र दमकलको केकति आवश्यकता छ, त्यसको विवरण उपलब्ध गराउन प्रदेश सरकारले भनेको छ ।