सरकारको समृद्धि नारालाई सहयोग गर्न सुनसरीको दुहवीमा रोजगार मेला

एकै दिन ३ सय ८५ जनालाई रोजगारी

0
Shares

एकै दिन ३ सय ८५ जनालाई रोजगारी
सरोज यादव, सुनसरी ।
सुनसरीको दुहवी नगरपालिकामा आयोजना गरिएको वृति परामर्श तथा रोजगार मेलामा उकै दिन ३ सय ८५ जनालाई रोजगारी दिइएको छ । रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुलाई एकैठांउमा समाहित गरेर आयोजना गरिएको एक दिने मेलामा ९ सय ४५ जनाले रोजगारीका लागि फाराम भरेका थिए ।

मेलामा रोजगारी पाउनेहरुमा प्राविधिकतर्फ मेसिन अपरेटर, इलेक्ट्रिसियन लगायत रहेका छन भने प्रशासनिकतर्फ कार्यालय ब्यवस्थापन, कार्यालय सहयोगी तथा लेखातर्फ रहेका छन । मेलामा अहिन्त मल्टिफाइबारले ठूलो सख्यामा २ सय ४० जनालाई मेलामै रोजगारी दिएको छ ।

यस्तै बाग्मती रिलायन्सले ४० जना,एबी ग्रुपले १०जनालाई रोजगारी उपलब्ध गराएका छन । मेलामा फुजिमा आयल, रिलायन्स थर्माेपोली टंकी लगायतले पनि रोजगारी प्रदान गरेका छन । प्रदेशमै पहिलो पटक आयोजना गरिएको रोजगार मेलामा एकै दिन सयौले रोजगारी पाएपछि दक्षता भएर पनि बेरोजगार भएका युवाहरुले खुशी ब्यक्त गरेका छन ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरिएको मेलाको प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास तथा श्रममन्त्री जीवन घिमिरेले उदघाटन गरे । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित ईन्स्योर परियोजनाको सहयोगमा दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरङको संयुक्त सहभागितामा मेला आयोजना गरिएको हो ।

मेलालाई मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश नं. १ ले समेत सहयोग गरेका छन । रोजगारदाता र रोजगारको खोजीमा रहेका युवा सहित प्राबिधिक शिक्षा दिने निकाय र संस्थाहरुको बाक्लो सहभागिता रहेको थियो ।

मेला आयोजनास्थलमै रोजगार दाता उद्योगिहरुले आफुलाई आवश्यक जनशक्ति संख्या स्थानियस्तरबाटै राख्ने प्रतिबद्धता समेत जनाए पछि आयोजक समितिले मेलास्थलमै बेरोजगार तथा दक्ष युवाहरुको अन्र्तबार्ता र फर्म भराउने काम समेत गरेको छ । उद्योग संगठन मोरङका उपाध्यक्ष राकेश सुरानाले मेलामा सहभागि कयौं उद्योगिहरुले मेलामा आएका बेरोजगार तर दक्ष युवाहरुलाई रोजगार दिने प्रतिबद्धता जनाएको बताए ।

मेलाको उदघाटन सत्रमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख जनालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पु¥याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताए । उहांले बेरोजगारी अन्तगर्न समयसापेक्ष प्राबिधिक शिक्षा दिनुपर्ने बिषयमा समेत जोड दिए ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले प्रदेश सरकारले आगामी १० बर्षभित्र प्रदेशलाई बेरोजगार मुक्त घोषणा गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको बताए । उनले त्यसकालागि प्राबिधिक शिक्षालाई उच्च प्राथमिकतामा राखिएको र मनमोहन पोलिटेक्निकलाई प्राबिधिक विश्वविद्यालयकारुपमा बिकासगर्ने प्रक्रिया समेत अघि बढाइसकिएको बताए ।

रोजगार मेलाले रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा आवश्यकता अनुसारको काम तथा मानव शंसाधन खोज्न र रोज्न सहयोग पु¥याएको छ भने पछिल्लो समयमा बजारको माग अनुसारको प्राबिधिक शिक्षाको बिषयमा समेत जानकारी पाउने अवसर जुराएको छ ।