फोरम पर्सामा भूसको आगो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
संघीय समाजवादी फोरम नेपाल पर्साको आन्तरिक कलह सतहमा आएको छ ।
तीनै तहको निर्वाचनमा अपत्यासित सफलता पाएको फोरम अहिले आन्तरिक विवादमा फसेको हो । चुनावको समयमा अन्य पार्टीबाट नेता कार्यकर्ता ल्याउने होडबाजी नै चल्यो । फोरममा अहिले तिनै विभिन्न पार्टीबाट आएका नेता कार्यकर्ता व्यवस्थापन ठूलो चुनौती बनेको छ ।

वैशाखमा हुने महाधिवेशनलाई लिएर पार्टी नेतृत्वको गतिविधि प्रति एक समूहले सार्वजनिक रुपमै असन्तुष्टि जनाएको छ । पार्टीको वरिष्ठ उपाध्यक्ष एवं प्रदेश प्रदेशसभा सदस्य मन्जुर अन्सारी, सहसचिव मुकेश द्विवेदी, केन्द्रीय सदस्य शशीकपुर मियाँलगायतले मंगलबार बिहान पत्रकार सम्मेलन गरी असन्तुष्टि सार्वजनिक गरे ।

सम्मेलनमा उनीहरुले पार्टी अध्यक्ष र केही नेताहरु अलोकतान्त्रिक, अवैधानिक र गैर राजनीतिक गतिविधि गरिरहेको आरोप लगाए । पार्टी नेतृत्व नसच्चिए जिल्लामा समानान्तर कमिटी गठन गर्ने चेतावनीसमेत दिए ।अन्सारीले केही केन्द्रीय सदस्य, अधिकांश जनप्रतिनिधि र पार्टीको ७५ प्रतिशत हिस्सा आफ्नो रहेको दावी गरे ।

‘नाता पर्नेलाई सचिव बनाउने, परिवारलाई निर्वाचनमा उठाउने गतिविधि पार्टीमा विगतदेखि नै देखिएको हो ।त्यतिमात्रै होइन वरिष्ठ उपाध्यक्षलाई वाईपास गरेर विधान विपरीत सुन्दर कुर्मीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने काम भयो,’ उनले भने ‘अहिले महाधिवेशनको समयमा आएरसमेत मनोमानी भइरहेको छ । पार्टीको बैठक बसेको छैन, पार्टी कार्यालयमा ताल्चा लगाएर राखिएको छ । त्यसैले संगठन सुदृढिकरणका लागि आन्तरिक संघर्षमा छौं ।’

केन्द्रीय सदस्य शशी कपुर मियाँले अलोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन गरे समानान्तर कमिटी गठन गर्ने चेतावनी दिए ।चैत २ गते बसेको संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समितिको बैठकमा गणपूरक संख्या नपुगेको दावी उनीहरुको छ । सोही बैठकले विभिन्न स्थानीय तह र वडाहरुमा ईकाई कमिटि गठन गर्न प्रतिनिधि खटाएको छ ।

तर त्यस दिन बैठकमा १ सय १७ सदस्यीय जिल्ला कार्य समिति सदस्यमध्ये ९३ जना उपस्थित रहेको दावी फोरम नेपाल पर्साको छ । यता ,पार्टीका जिल्ला अध्यक्ष एवं सांसद प्रदीप यादवले आफू पार्टीको सिद्धान्त र विधान अनुसार नै अघि बढिरहेको बताए । ‘केन्द्र र प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको बहुमतले निर्णय गरे अनुसार अधिवेशनको तयारी भइरहेको छ । पार्टीको सिद्धान्त र विधान अनुसार नै चलेको छु मनोमानी गरेको छैन’ उनले भने ।

पार्टीको विधानमा वरिष्ठ उपाध्यक्ष राख्ने प्रावधान नै नभएको बताउँदै उनले मिटिङमा नआई बाहिर ठूला ठूला कुरा गरेर नहुने तर्क उनको छ ।