१ सय ३ किलो गाँजासहित बोलेरो नियन्त्रणमा

0
Shares

हेटौंडा ।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले १३ वटा पोकामा राखिएको १ सय ३ किलो लागुऔषध गाँजासहित अभियुक्त र बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीले मकवानपुरको राक्सिराङ–५ स्थित बिर्खेखोलामा राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको ग. १ ज ७२१९ नम्बर बोलेरो चेक गर्दा गाडीचालक राक्सिराङ–९ बस्ने वर्ष २४ का पूर्णबहादुर थिङले बोलेरोभित्र लुकाइ राखेकोे अवस्थामा प्लास्टिकका ५ वटा बोरा गाँजा बरामद गरेको हो । शनिबार राति करिब गते साढे ११ बजे उक्त घटना भएको हो ।

उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद, १५ हजारदेखि १ लाखसम्म जरिवाना र सवारीसाधन जफत हुने प्रहरीले बताएको छ ।

शनिबार प्रहरीले १ सय ८४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय गाँजा नियन्त्रणमा मकवानपुर प्रहरी निकै कठोर बनेको देखिएको छ । केही समययता प्रहरीले यसबारे विशेष चासो दिएको पाइएको हो ।

गाँजाको उत्पादन क्षेत्रमै आफ्नो कठोर उपस्थिति जनाउँदै आएको प्रहरीले तस्करीमा संलग्न र भरिया पक्राउ गर्ने क्रम जारी राखेको छ ।