राणा विरोधी आन्दोलनमा जेलमै मारिएका गुरुङलाई शहीद घोषणा गर्न माग

0
Shares

यमलाल भुसाल, बुटवल ।
राणाकालमा मारिएका सुकदेव गुरुङलाई शहीद घोषणा गर्न माग गरिएको छ । शुकदेव गुरुङ राष्ट्रिय कार्यदलले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी शहीद घोषणाको माग गरेको हो ।

राणा शासन विरोधी आन्दोलनका क्रममा जेलमै मारिएका गुरुङलाई सरकारले अहिलेसम्म शहीद घोषणा नगरेर अन्याय गरेको कार्यदललका प्रवक्ता धनबहादुर गुरुङले बताउनु भयो ।

राणा विरोधी आन्दोलनका क्रममा १८ वर्ष जेल जीवन बिताएका गुरुङ विसं १९३३ चैत १० गते जेलभित्रै मारिएका थिए ।
शुकदेवलाई विगतदेखि नै शहीद घोषणाको माग गर्दै आएको र प्रदेश सभा बैठकमा सांसदहरुले समेत यो विषय उठाए पनि सरकारले बेवास्ता गरेको गुरुङले गुनासो गर्नु भयो ।

कार्यक्रममा हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष बिमला गुरुङले दुर्घटनामा मृत्यु हुने राजनीतिक दलका कार्यकर्तालाइ शहीद घोषणा गर्ने, तर देशको परिवर्तनमा योगदान दिनेलाई शहीद घोषणा किन नगर्ने भन्दै प्रश्न गर्नुभएको थियो ।

भैरहवा बर्मेलीटोलमा शुकदेवको शालिक रहेकाले उक्त चोकलाई ‘शुकदेव चोक’ नामाकरण गर्न पनि कार्यदलले माग गरेको छ ।
शुकदेवलाई शहीद घोषणा गर्न दबाव दिने उद्देश्यले कार्यदलले बिभिन्न कार्यक्रम घोषणा गरेको छ ।

चैत ८ गते प्रदेश ५ का मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सोही दिन जातीय संघ ,संगठनको सहभागितामा सर्वदलीय र सर्वपक्षीय अन्तरक्रिया गर्ने, १० गते भैरहवाको बर्मेलीटोल चोकमा १४२ औं स्मृति दिवस मनाउने लगायतका कार्यक्रम तय गरेकोे जनाएको छ ।