भीमेश्वर नगरका विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको भीमेश्वर नगरपालिकाले शैक्षिक गुणस्तर बृद्धिको लागि नगर भित्रका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने अभियान सुरु गरेको छ । शैक्षिक गुणस्तर बृद्धि र अन्तराष्ट्रिय स्तरको अध्यापन गराउने वातावरण निर्माणको लागि नगर भित्रका सबै विद्यालयमा अंग्रेजी माध्यम सुरु गर्न लागिएको नगरप्रमुख भरतबहादुर केसीले बताए ।

नगरभित्रका केहि विद्यालयहरुले यस अघिनै अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरिसकेको भएपनि आगामी शैक्षिक सत्र देखि भने नगरभित्रका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने योजना नगरपालिकाको रहेको छ । यस अघि अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरिएको विद्यालयमा सबै कक्षामा अंग्रेजी माध्यमको अध्यापन अनिर्वाय गराउने र यस अघि सुरु नभएको विद्यालयमा अंग्रेजी अध्यापनको प्रारम्भ गरिने नगरप्रमुख केसीको भनाई छ ।

भीमेश्वर नगरपालिका भित्र माध्यामीक विद्यालय ११ वटा, आधारभूत विद्यालय ३२ वटा र बाल बिकास केन्द्र १ वटा गरी ४४ वटा सामुदायीक विद्यालय रहेका छन् । त्यसैगरी नगरपालिका भित्र १३ वटा नीजि विद्यालय समेत सञ्चालनमा रहेका छन् । नीजि विद्यालयहरु सबैमा अंग्रेजी माध्यमबाटै अध्यापन हुने भएकोले नगरपालिकाले सामुदायीक विद्यालयलाई प्राथामीकतामा राखेर अंग्रेजी माध्ममा अध्यापन गराउने अभियान सुरु गरेको भीमेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत अर्जुन कार्कीले बताए ।

अध्यापन बिधिलाई अंग्रेजी माध्यम अनिर्वाय बनाउन अहिले नगरपालिकाले शिक्षाविद्हरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक र शिक्षक नेताहरुसंग परामर्श गरिरहेको नगरप्रमुख केसी बताउछन् । सबैको सुझाब र सहमतिमा आगामी शैक्षिक सत्रदेखि नगरभित्रका सबै विद्यालयमा अंग्रेजी माध्यम अनिर्वाय गरिने नगरप्रमुख केसीले बताए ।

भीमेश्वर नगरपालिकाले अंग्रेजी माध्यमबाट अध्यापन गराउन सबै विद्यालयमा एउटै पाठ्यक्रम बनाउने अभियान समेत सुरु गरेको छ । त्यसको लागि सामुदायीक विद्यालयहरुलाई पुस्तक खरीदमा ५० प्रतिशत सहयोग गर्ने नगरपालिकाको शिक्षा शाखाका अधिकृत कार्कीले बताए । भीमेश्वर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आए लगतै नगर भित्रका सबै विद्यालयमा एउटै पोशाक अनिर्वाय गरिएको थियो । त्यसैगरी विद्यार्थीहरुलाई दिवा खाजाको लागि पनि नगरपालिकाले सहयोग गर्दै आएको छ ।