बहाल कर उठाउने महानगरपालिकाको निर्णयप्रति उवा संघको आपत्ति

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर महानगरपालिकाले गरेको बहाल कर उठाउने निर्णयप्रति ललितपुर उद्योग वाणिज्यले संघले विरोध जनाएको छ ।
२० वर्ष अघि महानगरपालिकालाई व्यवसायीले तिनुपर्ने बहाल कर अहिले तिरेको छ कि छैन भनेर अनुगमन गर्ने सूचना निकालेकोप्रति ध्यानाकर्षण भएको भन्दै संघले सार्वजनिक रुपमै त्यसप्रति विरोध जनाएको हो ।

संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार बालकुमारीमा आयोजित समारोहमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले संघसंग एक शब्द नसोधिकन हठात ढंङ्गले निकालिएको अनुगमनको सूचनाले व्यवसायीहरुलाई हतोत्साहित तुल्याएको प्रतिक्रिया दिनुभयो।

समारोहमा सभामुख कृष्णबहादुर महरा, संघीय सांसद् नवराज सिलवाल, कृष्णलाल महर्जन, पम्फा भुसाल, प्रदेश – ३ का सांसद् माधव पौडेल, ज्ञानेन्द्र शाक्य राजकाजी महर्जन लगायत नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी लगायत जिल्लाका सयौं उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।सो अवसरमा महानगरपालिकाका उपप्रमुख गीता सत्यालको पनि उपस्थिति रहेको थियो ।

समारोहमा वरिष्ठ उपाध्यक्ष जोशीले भन्नुभयो ‘महानगरपालिकाको अनुगमन किन र के का लागि ? यसमा महानगरपालिकाका प्रमुख र उपप्रमुखले स्पष्ट पारिदिनुपर्यो ।कर्मचारीले जनप्रतिनिधिलाई गुमराहमा पारेर यसो निर्णय गरिएको हो कि  ’

वरिष्ठ उपाध्यक्ष जोशीले ऐतिहासिक भूकम्प मन्दिर पुनःनिर्माण गर्न, पायो जात्रा चलाउन महानगरपालिकालाई संघले सहयोग गर्दै आएको पृष्ठभूमी औल्याउ“दै भन्नुभयो ‘ यस्ता विषयमा महानगरपालिकालाई संघले सघाउने तर निजी क्षेत्रको प्रत्यक्ष सरोकार रहेको राजस्व उठाउने कार्यमा संघलाई किनारा लगाउने, यो कस्तो कार्यशैली हो ?’

लामो समयदेखि बन्द रहेको पायोजात्रा सञ्चालनका लागि संघले गत असोजमा महानगसरपालिकालाई २ लाख ७५ हजार रुपैया“ सहयोग गरेको थियो । भूकम्पबाट क्षतिग्रस्त विश्वसम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिर पुनःनिर्माणको अगुवाई संघले गरेको छ ।

महानगरपालिकाको सो कार्यशैलीले वरिष्ठ उपाध्यक्ष जोशीले ‘खसी काटेर तिहुन भएन , छोरी दिएर पनि ज्वाई भएन भन्ने उखान चरितार्थ भएको धारणा राख्नुभयो ।वरिष्ठ उपाध्यक्ष जोशीले निजी क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा संघसंग संवाद गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

२०७४ जेठ १० गते महानगरपालिकाको प्रमुखको पदबहाली गरेका चिरिबाबु महर्जनले संघको आर्थिक एजेण्डा, योजना नै महानगरपालिकाको योजना हुनेछ भनेर भन्नुभएको स्मरण गर्दै सो प्रतिबद्धता व्यवहारमा नदेखिएकोमा निजी क्षेत्रले असन्तुष्टि जनाउ“दै आएको छ ।