काङ्ग्रेसद्धारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक ल्याउन माग

0
Shares

काठमाडौँ ।
नेपाली काङ्ग्रेस संसदीय दलले ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी ल्याउन माग गरेको छ ।

काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले संसद्मा वितरण गरेको राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक संविधानको व्यवस्था अनुकूल नरहेको र राष्ट्रिय सुरक्षा परिषद् तथा नेपाली सेनाको भूमिकालाई अवमूल्यन गर्ने गरी ल्याइएको अरोप लगाउनुभयो । उहाँले विज्ञप्तिमार्फत उक्त विधेयकलाई यथाशीघ्र फिर्ता गर्दै संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी ल्याउन माग गर्नुभएको छ ।

नेपालको संविधानको धारा, २६७ को उपधारा ९६० मा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ’ भन्ने व्यवस्था छ । उहाँले उक्त विधेयकको दफा ६ को उपदफा ९३० मा ‘तत्काल परिषद्को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि सरकारसमक्ष सिफारिश गर्न सक्नेछ’ भन्ने प्रावधान राखिएको उल्लेख गर्नुभएको छ । सो व्यवस्थाले संविधानको प्रतिकूल हुने गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजिएको प्रमुख सचेतक खाणको आरोप छ ।
रासस