नक्कली सुन देखाई ठगी गर्ने ६ जना पक्राउ

0
Shares

काठमाडौँ ।
प्रहरीले नक्कली सुन देखाई ठगी गर्ने ६ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट, किस्पाङका ३८ वर्षीय मसा तामाङ, नुवाकोट तारकेश्वरका ३१ वर्षीय बुद्धिमान तामाङ, सोहि ठाउँका २८ वर्षीय मंगले तामाङ, नुवाकोट मेघाङका २६ वर्षीय राउसिंह तामाङ, गोरखा अजिकोटका हाल काठमाडौँ नागपोखरी बस्दै आएका ३९ वर्षीय कुशल अधिकारी र गोरखा ताप्लेका ३२ वर्षीय गोविन्द पोखरेल रहेका छन् ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जबाट खटि गएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नक्कली सुन दुई थान र १ हजार दरको नक्कली नेपाली नोट ५ थानसहित पक्राउ गरिएको सुदिप गिरीले जानकारी दिनुभयो ।

उनीहरुले संगठित गिरोह खडा गरी ठगी गर्ने गरेका र एउटा समुहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुले विगत केही महिनादेखि काठमाडौका ठाउँहरुमा नक्कली सुनलाई सक्कली सुन हो भनी विभिन्न व्यक्तिहरुलाई सस्तो मुल्यमा सुन दिलाई दिन्छु भन्दै प्रलोभनमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भईरहेको छ ।