सल्यानमा ब्लड बैंकको अभाव, ब्लड दिन सेना, प्रहरी धाउछन् अस्पताल

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यान जिल्लामै ब्लड बैंककाे अभावले समस्या भएको छ । ब्लड अभावका कारण आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेर्होदै आइरहेका छन् । अहिले आकस्मिक रगत चाहिएमा सेना, प्रहरी धाउनु पर्ने बाध्यता रहेको छ ।

सुत्केरी आमा र दुर्घटनामा घाइते बिरामीलाई रगत बढी चाहिने भएपनि जिल्लामा ब्लड बैंक नहुँदा उपचारमा निकै समस्या हुने गरेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

’रगत चाहिएको समयमा अन्य बिरामीका कुरुवा, सेना, प्रहरीको सहयोग माग्नु परेको छ’ जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जून बुढाले बताए ।

’रगत आवश्यकता पर्दा पहिले सम्झिने नाम हो सेना, प्रहरी र स्थानीय।’ रगतको अभाव भएर बिरामी छट्पटाई रहँदा अस्पतालमा आएका बिरामीका कुरुवा, सेना प्रहरीलाई गुहार माग्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । जिल्लामा ब्लड बैंक नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । एक हप्ताको बीचमा १२ जना बिरामीलाई रगत दिनु परेको अस्पतालका ल्याब टेक्निसियन भीम रोकाले बताए। यो अहिलेसम्मकै अधिक भएको समेत उनले बताए ।

अस्पतालबाट रगतका लागि फोन आउँदा ड्युटीमा रहेका प्रहरीलाई हतार हतारमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले बताए । उनले भने ’सेना र प्रहरीले धेरैको ज्यान बचाएका छन् । ब्लड बैंक थियो भने त्यहीँबाट दिन मिल्थ्यो ।’ जिल्ला अस्पतालको मागअनुसार सेना र प्रहरीले यसरी आपतकालीन रक्तदान गर्न थालेको वषौं बितिसकेको उनको भनाई रहेको छ ।

जिल्लामा ब्लड बैंक स्थापनाका लागि प्रदेश सरकारसँग आग्रह गर्नुका साथै पत्राचार गरेको अस्पताल विकास समितिका अध्यक्ष दामोदर शर्माले बताए । अस्पताल विकास समितिको बैठक बसेर सामाजिक विकास मन्त्रालयमा पत्राचार गरेको र मन्त्रालयले पनि आश्वाशन दिएको उनको भनाई रहेको छ । बिरामीहरूलाई स्वास्थ्यको पहुँच भित्र ल्याउनका लागि पनि ब्लड बैंक आवश्यक रहेको शर्माकाे भनाइ छ ।

सुत्केरी हुन आउने महिलाको संख्यामा क्रमिक वृद्धि आएका कारण पनि पछिल्लो समय रगतको माग बढ्दै गएको शर्माले बताउछन्