तल्लो मोदी जलविद्युतमा आगलागी

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
बिद्युत उत्पादन गर्ने अन्तिम तयारीमा रहेको पर्वतमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनामा सोमबार बिहान आगलागी भएको छ ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको जलबिद्युत आयोजनाको सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने पेनस्टक पाइपमा विद्युत सट हुँदा आगलागी भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पाईपमा रंग लगाउने क्रममा अचानक बिद्युत सर्ट भए बिहान करिब साढे १० बजे आगो लागेको हो । साढे १० बजे लागेको आगो दिउँसो १ बजे नियन्त्रणमा आएको आगो निभाउन सक्रिय सुरक्षाकर्मीहरुले बताए । पर्वतका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीसहितका जनपथ प्रहरी, सशस्त्र प्रहरी, सेना, आयोजनाका कर्मचारी र कुश्मा नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको हो ।

आगलागीमा पाइपमा रङ लगाउँदैगरेका ३ जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा अनिल विक, विजय पचभैया र चन्दनबहादुर गुरुङ रहेको पर्वत प्रहरीले जनाएको छ । ३२७ मिटर लामो पाइपको भित्री भागमा रङ लगाउँदा उज्यालोका लागि लगिएको विद्युत तार सर्ट भएको हो । तार सर्ट भएपछि लागेको आगोले पाइपभित्र लगाएको सबै रङ जलेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । ’फलामको पाइप भएकोले पाइपलाई असर गर्दैन,’ उनले भने, ’पाइपको भित्री भागमा लगाइएको रङ मात्रै जलेको हो ।’

आगो लागेको पाइपभित्रबाट धुवाँको मुस्लो निस्किरहेकोले क्षतिको विवरण आउन नसकेको आयोजना प्रमुख यादवले बताए । पाइपभित्र लागेको आगोको मुस्लो र धुवाँ पावरहाउसमा जडित डाइनार ओ र न्य उपकरणसम्म समेत फैलिएको थियो ।

पावरहाउसका उपकरणमा भने क्षति नभएको आयोजनाले जनाएको छ । समयमा आगो नियन्त्रणमा लिन नसकेको भए बिद्युतगृहमा जडित जेनेरेटर लगायतका उपकरण समेत जल्ने खरता रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिए ।
आयोजनाले चैत्रको अन्तिम सम्ममा परिक्षण उत्पादनको तयारीमा रहेको छ ।