जुत्ता चप्पल मेलामा दर्शकको भीड

0
Shares

हेटौंडा ।
हेटौंडामा जारी जुत्ताचप्पल मेलामा दर्शक तथा क्रेताको भिड देखिएको छ । ‘स्वदेशी वस्तु प्रवद्र्धन–हाम्रो अभियान’ नारासहित जुत्ताचप्पल व्यापार मेला भएको हो । मकवानपुर उद्योग वाणिज्य संघ र जुत्ताचप्पल उद्योग संघले संयुक्तरुपमा मेला गरेका हुन् ।

हेटौंडा–२ स्थित पल्पसा हलमा जारी मेलामा मकवानपुरबासीको उत्साहप्रद सहभागिता रहेको भन्दै मेला संयोजक होमनाथ उपाध्यायले खुशी व्यक्त गर्नुभयो । हेटौंडामा नेपाली जुत्ताचप्पलको बजार प्रवद्र्धनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मेला संयोजक उपाध्यायले व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले यस प्रकारका मेलाले स्वदेशी उत्पादन प्रवद्र्धनमा सघाउ पु¥याउने बताउनुभयो । हेटौंडामा सम्भवतः पहिलेपटक मेला आयोजना गरिएकोमा उहाँले खुशी व्यक्त गर्दै यस्ता मेलाहरु हरेक प्रदेशमा आयोजना गरिनुपर्ने औंल्याउनुभयो । उहाँले मेलालाई महोत्सवको संज्ञा दिनुभयो ।

मेलामा १५ देखि ६० प्रतिशतसम्म खरिदमा छुट उपलब्ध छ । निःशुल्क प्रवेश पाइने मेलामा बालबालिकादेखि युवा र वृद्धलाई उपयुक्त हुने जुत्ताचप्पल राखिएका छन् ।

मेलामा बीएफ डियर हिल सुज, कोसेली, हाइलाइफ, क्रसरोड, रोयल सुज, रन सुज र सु ल्याण्डका जुत्ताचप्पल समावेश छन् । मेलामा देशभरका जुत्ताचप्पल उत्पादक ७ कम्पनीका ६० वटा र स्थानीय व्यवसायीका गरी ८५ वटा स्टल छन् । यसअघि बिराटनगरमा मेला सफलरुपमा सम्पन्न भइसकेको छ ।

मेलामा नयाँ डिजाइनका जुत्ताचप्पल तथा छालाजन्य वस्तु अवलोकन तथा खरिद गर्न पाइन्छ । नयाँ शैक्षिक सत्र सुरु हुन लागेकोले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्री प्रदर्शनीमा राखिएका छन् । मेलामा खरिद गरिएका जुत्ता चप्पलमा ६ महिना वारेन्टी सुबिधा उपलव्ध छ ।
२० दिनसम्म चल्ने जुत्ताचप्पल मेला सुरुदेखि नै दर्शकको भिड देखिएको हो । फागुन २९ गते प्रदेश–३ का उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले मेला उद्घाटन गर्नुभएको थियो ।