१६ करोड लागतमा तरकारी तथा फलफूल थोक बजार

0
Shares

प्रधानमन्त्रीद्वारा मुख्यमन्त्रीलाई बजारको साँचो हस्तान्तरण
सरोज यादव, विराटनगर ।
विराटनगर महानगरपालिकासँगै जोडिएको मोरङको कटहरी गाउँपालिकामा झण्डै २ वर्षअघि निर्माण शुरु भएको तरकारी तथा फलफूल थोक बजार निर्माणको आइतबार उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तरकारी तथा फलफूल थोक बजारको उद्घाटन गरेका हुन । निर्माण सम्पन्न भएपनि केही प्राविधिक कारणले संचालनमा आउन नसकेको भवनको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरी को ५ बिघा २ धुर जग्गामा विश्व वैंक र नेपाल सरकारको संयुुक्त सहयोगमा सो केन्द्र निमार्ण भएको हो ।

पाँच विघा २ धुरमा फैलिएको सो थोककेन्द्रको निमार्ण लागत १५ करोड ४९ लाख रुपैया रहेको छ । बजारभित्र निर्माण भएको तीन तले प्रशासनिक भवनमा प्रशासन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक काउण्टर रहने छ ।

तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेसिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलार ब्याट्री, सीसीटीभी, सुरक्षा गार्ड पोष्ट र गाडी पार्किङको व्यवस्था तरकारी बजारभित्र रहको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसिले बताए । यो जग्गा विद्यालयसँग ५० वर्षको लागि भाडामा लिइएको हो ।

विश्व बैंकको आर्थिक सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले क्षेत्रीय थोक कृषि बजारको रुपमा यसलाई निर्माण गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधनलाईलाई भवनको साँचो हस्तान्तरण गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणले तिव्रता पाएको भन्दै तरकारी बजारको सदुपयोग गरेर अगाडि बढ्न उनले प्रदेश वासीलाई आग्रह गरे । कार्यक्रममा मुख्यमन्त्री राईले थोक बजारको आवश्यक नियमन, संचालन र व्यवस्थापनका लागि साँचो हस्तान्तरण गरेकोमा संघीय सरकारलाई धन्यवाद दिदै बजारको ब्यवस्थापना कुनै कमजोरी नहुने बताए ।

तरकारी तथा फलफूल थोक बजारमा बर्सेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलफूल बिक्री हुने लक्ष्य रहेको छ । शुरु लागत १३ करोड ७६ लाख रहेको सो थोक बजार ०७३ साल मंसिरमा निर्माण शुरु गरी १३ महिना अर्थात ०७४ पौष मसान्त भित्र निर्माण सम्पन्न गर्ने तयारी थियो । तर गत वर्ष आएको बाढीका कारण निर्माणमा ढिलाई भएको र लागत समेत बढेको ठेकेदार कम्पनीले जनाएको छ ।