सुनसरीमा वृत्ति परामर्श तथा रोजगार मेला

0
Shares

सरोज यादव, विराटनगर ।
हरेक दिन बढ्दै गएको बेरोजगारी समस्यालाई ध्यानमा राखेर उद्योग संगठन मोरङको अग्रसरतामा सुनसरीको दुहबीमा वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । यही चैत ५ गते मेला आयोजना गर्न लागिएको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए । दुहबी नगरपालिका, बूढीगंगा गाउँपालिका र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो ।

मेलामा सिटिइभिटी, ईन्स्योर, मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यावसायिक सीप तालिम प्रदायक संघ प्रदेश–१ को सहयोगमा हुनेछ । मेला बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुने अध्यक्ष घिमिरेले बताए । आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार मेलाको प्रदेश–१ का मुख्यमनत्री शेरधन राईले उद्घाटन गर्नेछन् ।

मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा सूचना दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र तालिमबारे सूचना दिइने, रोजगारसम्बन्धी सूचना तथा रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुलक कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादन प्रदर्शनी, रोजगारको अवसर प्राप्त गर्न सकिने उनले बताए ।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा ६ सयभन्दा बढी उद्योग छन् । जसमा ७० हजारभन्दा बढी मजदुर कार्यरत छन् । अझै ५ हजार मजदुरको आवश्यकता रहेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए । विशेष गरी प्राविधिक जनशक्ति, फुड स्पेशलिष्ट, मार्केटिङ, केसिएर, रिसेप्सनिष्ट, एकाउन्टेन्टको आवश्यकता रहेको उनले बताए ।

“एकातर्फ दक्ष जनशक्ति पलायन हुने क्रममा रहनु र अर्कातर्फ उद्योग÷व्यवसायलगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको अवस्थामा आयोजना गर्न लागिएको मेलाबाट रोजगारदातालाई आवश्यकताअनुसारको जनशक्ति उपलब्ध हुनेछ,” घिमिरेले भने, “रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास लिएका छौं ।” रोजगारीको खोजीमा रहेका करिब २ हजार जनशक्तिको सहभागिता रहने आयोजकको अपेक्षा छ ।