विप्लवले हतियार नबुझाए सरकारले आफैँ खोस्ने

0
Shares

सरोज यादव, विराटनगर ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विप्लव माओवादीले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने चेतावनी दिएका छन । विराटनगर र मोरङको कटहरी गाउँपालिकाको सीमानामा रहेको फलफूल तथा कृषि बजार उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाप्रति आक्रोश व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन ।

प्रधानमन्त्री ओलीले विप्लव समूहले चन्दाका नाममा धम्क्याउने र लुटपाट गरिरहेको बताए । सरकारले यस्ता गतिविधि रोक्न प्रतिबन्ध लगाएपछि केही बुद्धिजीविले नकारात्मक टिप्पणी गरेको विषयमा आफूलाई त्यस्ता बुद्धिजीविप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले चन्दाका नाममा धम्की आए नमान्न सबैलाई आग्रह समेत गरे ।

विद्युत् आयोजनामा बम पड्काउने, टेलिकमका टावरमाथि बम पड्काउने जन्तीबसमा आगो लगाउने काम विप्लव माओवादीले गरिरहेको बताउँदै उनले विप्लवले बाटो नसच्याए सरकारले तह लगाउने चेतावनी दिए । सरकारले हतियार बुझाउन समायवधि दिएको भन्दै प्रधानमन्त्रीले भने समयमा हतियार नबुझाए र अटेरी गरे के गर्नुपर्छ सरकारलाई राम्रोसँग थाहा छ ।

प्रधानमन्त्री ओलीले सिके राउतले जनताको अभिमत मान्छु भनेर सरकारसँग सहमति गरेको भन्दै प्रधानमन्त्री ओलीले सहमतिलाई केहीले राष्ट्रघात भनेको आरोपप्रति खण्डन गरे । राउतसँगको सहमतिसँगै विखण्डनवाद समाप्त भएको ओलीको दाबी थियो ।